सागर महत, अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्कस्थित टुँडिखेलमा आयोजित स्वर्गीय रमादेवी स्मृति टी–१० क्रिकेट प्रतियोगिताको उपाधि वेस्टर्न क्रिकेट एकेडेमी बुटवलले जितेको छ।
राज क्षेत्री, सरोज रायमाझी र शोभाखर खत्रीको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा वेस्टर्न क्रिकेट एकेडेमी बुटवलले रोयल आँपखोलालाई ९ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।
विजेता वेस्टर्न क्रिकेट एकेडेमी बुटवलले एक लाख रुपैयाँसहित चेक, मेडल र ट्रफी प्राप्त गरेको छ। उपविजेता रोयल आँपखोलाले ६० हजार रुपैयाँसहित मेडल र ट्रफीमा चित्त बुझाएको छ। प्रतियोगितामा जिल्ला भित्र र बाहिरका गरी १६ टोलीले सहभागिता जनाएका थिए। प्रतियोगितामा म्यान अफ द सिरिजलाई १५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ।
यस्तै, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही पाँच हजार रुपैयाँ तथा ‘म्यान अफ द म्याच’लाई दुई हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको आयोजक राज क्षेत्रीले जानकारी दिनुभयो। प्रतियोगितामा अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले सहजीकरण गर्नुभएको थियो।
विजेता तथा उपविजेता टोलीलाई जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ र सन्धिखर्क नगरपालिका–८ का वडाध्यक्ष हुमप्रसाद बन्जाडेले पुरस्कार वितरण गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्