Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


होर्मुज जलडमरुबाट जहाज आवतजावत नगर्न अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठनको आग्रह


39
Shares

काठडमाडाैं ।

व्यावसायिक जहाजमाथि आक्रमण तीव्र बन्दै गएपछि अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ) ले होर्मुज जलडमरु र आसपासको क्षेत्रमा जहाज सञ्चालन तथा व्यापारिक आवतजावत नगर्न आग्रह गरेको छ।

आईएमओका महासचिव आर्सेनियो डोमिङ्ग्वेजले क्षेत्रीय द्वन्द्वका मूल कारण सम्बोधन नभएसम्म त्यहाँ सुरक्षित रूपमा सामुद्रिक गतिविधि पुनः सञ्चालन गर्न नसकिने बताउनुभएको छ। उहाँले व्यावसायिक जहाज, नाविक र समुद्री वातावरणको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको हो।

समाचार संस्था सिन्ह्वासँग कुराकानी गर्दै डोमिङ्ग्वेजले सङ्गठनले यसअघि जारी गरेको सुरक्षा सल्लाहमा कुनै परिवर्तन नभएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार जहाज सञ्चालकहरूले होर्मुज जलडमरु हुँदै आवतजावत गर्न र त्यस क्षेत्रको व्यापारमा संलग्न हुनबाट जोगिनुपर्छ ।

उहाँले भन्नुभयो, “परिस्थितिमा कुनै परिवर्तन भएको छैन। आईएमओ र मैले पछिल्ला केही महिनादेखि निरन्तर दिँदै आएको सन्देश पनि उही हो-जहाजहरूले होर्मुज जलडमरु हुँदै आवतजावत नगर्ने र त्यस क्षेत्रमा व्यापारिक गतिविधि सञ्चालन नगर्ने।”

नाविक, जहाज र समुद्री वातावरणको सुरक्षा सुनिश्चित गर्न यस्तो सावधानी आवश्यक रहेको उहाँको भनाइ छ।

यसैबीच, आक्रमणको जोखिम घटाउन सामुद्रिक गतिविधि सञ्चालनसम्बन्धी सावधानी मात्र पर्याप्त नहुने डोमिङ्ग्वेजले बताउनुभएको छ। द्वन्द्वरत पक्षहरू वार्तामा बसेर सङ्कटका मूल कारण समाधान नगरेसम्म त्यस क्षेत्रमा सुरक्षित रूपमा जहाज सञ्चालन गर्न सम्भव नहुने उहाँले स्पष्ट पार्नुभयो।

“परिस्थिति निरन्तर बिग्रँदै गएको छ। सङ्कटका मूल कारणहरू सम्बोधन भइरहेका छैनन्। हाम्रो तर्फबाट हामी सामुद्रिक सञ्चालनका प्राविधिक तथा व्यावहारिक पक्षमा मात्र काम गर्न सक्छौँ। तर द्वन्द्वरत पक्षहरू बसेर यो सङ्कट किन सुरु भयो भन्ने विषयको समाधान नखोजेसम्म त्यस क्षेत्रमा सुरक्षित रूपमा जहाज सञ्चालन पुनः सुरु गर्न सकिने छैन,” उहाँले भन्नुभयो।

अक्टोबरको दोस्रो सातामा एकै दिन छ जहाजमाथि आक्रमण

आईएमओको वेबसाइटमा प्रकाशित विवरणअनुसार, अक्टोबर ५ देखि ११ सम्म होर्मुज जलडमरु र आसपासका जलक्षेत्रमा जहाजमाथि १२ वटा आक्रमणका घटना अभिलेख भएका छन्। द्वन्द्व सुरु भएयताकै एक सातामा भएको यो सबैभन्दा ठूलो सङ्ख्या हो। अक्टोबर ११ मा मात्रै छवटा जहाज आक्रमणको निशानामा परेका थिए।

आक्रमणको जोखिम बढेसँगै अन्तर्राष्ट्रिय सामुद्रिक यातायातको सुरक्षामाथि गम्भीर चुनौती थपिएको छ। आईएमओको अक्टोबर १४ सम्म अद्यावधिक विवरणअनुसार, होर्मुज जलडमरु र मध्यपूर्वका सम्बन्धित जलक्षेत्रमा कुल ११३ वटा घटनाको पुष्टि भएको छ। ती घटनामा कम्तीमा २४ जना नाविकको मृत्यु भएको सङ्गठनले जनाएको छ।

त्यस्तै, आईएमओको विवरणमा अक्टोबर ११ मा आक्रमणमा परेका जहाजमध्ये केहीमा क्षति पुगेको, केही नाविक घाइते भएको र एउटा जहाजका दुई जना नाविक हराइरहेको उल्लेख छ। यसले व्यावसायिक जहाजमाथिको जोखिम जहाजको भौतिक सुरक्षामा मात्र सीमित नरही चालक दलको जीवन र समुद्री वातावरणसम्म फैलिएको देखाउँछ।

यसअघि पनि आईएमओले जहाज सञ्चालक, जहाजधनी र सम्बन्धित मुलुकहरूलाई जोखिमपूर्ण जलक्षेत्रमा जहाज नपठाउन आग्रह गर्दै आएको थियो। जुन महिनामा सङ्गठनले होर्मुज जलडमरुमा सुरक्षित आवागमनको भरपर्दो प्रत्याभूति नरहेको बताउँदै नाविकको जीवनलाई व्यावसायिक हितभन्दा माथि राख्नुपर्ने स्पष्ट पारेको थियो।

होर्मुज जलडमरु विश्व व्यापारका लागि महत्त्वपूर्ण सामुद्रिक मार्ग हो। यस क्षेत्रमा जारी द्वन्द्व र जहाजमाथिका आक्रमणले सामुद्रिक यातायात, ऊर्जा आपूर्ति तथा अन्तर्राष्ट्रिय व्यापारमा थप अनिश्चितता सिर्जना गरेको छ। यस्तो अवस्थामा जहाजको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित पक्षबीच वार्ता र द्वन्द्वको मूल कारण समाधान गर्नुपर्ने आईएमओ महासचिव डोमिङ्ग्वेजको जोड छ।

Skip This