Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


वैदेशिक रोजगारीमा गएका नेपालीको हीतमा बढी ध्यान दिएको छु : प्रधानमन्त्री दाहाल


195
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हीतका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले सबैभन्दा बढी ध्यान वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हीत र रक्षाका लागि दिएको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने काम अगाडि बढाएको बताउनुभयो । त्यस्तै, विदेशस्थित नेपाली दूतावासहरुमा श्रमिक हेल्प डेस्कको व्यवस्था, अनलाइन माध्यमबाटै श्रम स्वीकृति लिने व्यवस्था, वैदेशिक रोजगारीका क्रममा बन्धक बनाइएका, अलपत्र परेका नेपालीहरुको उद्दार लगायतका महत्वपूर्ण कामहरु अगाडि बढाएको पनि उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका क्रममा अंगभंग वा मृत्यु भएका नागरिकका परिवारका लागि शिक्षा र स्वास्थ्यमा राज्यले अभिभावकिय भुमिका खेल्ने बताउनुभयो । उहाँले भारत र तेस्रो मुलुकबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुले भोग्दै आएका समस्या र दुःख, कष्टको सहजीकरण र सम्बोधन गर्न सरकार गम्भिर रुपले लागिरहेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको सन्दर्भमा उल्टोपाल्टो पारेर भ्रम फैलाउन लागिएको भन्दै सचेत हुन आग्रह समेत गर्नुभयो । उहाँले जसले देशमा राजनीतिक परिवर्तन ल्यायो उसले मात्रै देशलाई एकतावद्ध गर्न सक्ने बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीबाट नेपाल फर्किएकाहरुका लागि सबै स्थानीय तहहरुमार्फत अवसरहरुको सिर्जना गरिने बताउनुभयो ।