Logo ३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026


नक्कली भुटान शरणार्थी प्रकरण : ३० जनाविरुद्ध मुद्दा दायर


1.2k
Shares

काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ३० जनाविरुद्ध पाँच वटा मुद्दा दायर गरेको छ ।

सरकारी वकिल कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले शरणार्थी बनाइ अमेरिका पठाइदिने भनि विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा ३० जनालाई पाँच किसिमको मुद्दा दायर गरेको हो ।

प्रहरीले दुई दिनअघि पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले उनीहरू विरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरेको हो ।

नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले प्रतिवेदनका साथमा पक्राउ परेका १६ जनालाई पेश गरेको थियो । यस प्रकरणमा प्रहरीले १४ जनालाई फरार प्रतिवादी बनाएको छ ।

पक्राउ पर्नेमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, इन्द्रजित राई, बालकृष्ण खाँण, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनाथ रिजाल, शमशेर मिया, रामशरण केसी र गोविन्द चौधरी छन् ।

उनीहरूमाथि राज्यविरूद्धको कसुर, ठगी एवं संगठित अपराध कसुरमा अनुसन्धान गरेको थियो ।