Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


रजत विजेता पाराग्लाइडिङ टिमलाई पोखरामा रथारोहणसहित भव्य स्वागत


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ १९ । इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद (एसियाड)मा नेपाललाई रजतपदक दिलाउन सफल पाराग्लाइडिङ टिमलाई पोखरामा रथारोहणसहित भव्य स्वागत गरिएको छ ।

खेलाडीहरुलाई मंगलबार पोखरा विमानस्थलमा स्वागतपश्चात् बाजागाजा र रथारोहणसहित पोखराबजार परिक्रमा गराइएको हो ।

पोखरा विमानस्थलबाट सुरु भएको र्‍याली मुस्ताङचोक, बिरौटाचोक, ड्यामसाइट, राष्ट्र बैंकचोक, नयाँबजार, पृथ्वीचोक हुँदै नगर परिक्रमा गरी पोखरा रंगशालामा सम्मान कार्यक्रममा सरिक भएको थियो ।

नेपाली पाराग्लाइडिङ पाइलट विमल अधिकारी, विशाल थापा, युकेश गुरुङ, सुशील गुरुङ र विजय गौतमको टिमले पाराग्लाइडिङको टिम क्रसकन्ट्रीमा नेपाललाई रजत दिलाएको हो ।

एसियाली खेलकुदमा नेपालको यो दोस्रो रजतपदक हो । एसियाडमा नेपालले २० वर्षपछि रजत जितेको हो ।

सो कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, नेपाल ह्याङग्लाइडिङ तथा पाराग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, पाराग्लाइडिङ पाइलट क्लब, नेपाल खेलकुद पत्रकार मञ्च कास्की, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पाराग्लाइडिङ टिमलाई सम्मान गरेका छन् ।