काठमाडाैं। नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजले तेस्रो जित हात पारेकाे छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा साेमबार राति भएको खेलमा कर्णालीले सगरमाथा स्म्यासर्सलाई ३–२ को सेटले पराजित गरेकाे हाे । कर्णालीले पहिलो सेट २५–१६ ले जितेको थियो भने दोस्रो सेट सगरमाथाले २५–२३ ले जित्यो । तेस्रो सेट फेरी कर्णालीले २५–२३ ले जित्दै अग्रता बनायो । तर चौथो सेटमा सगरमाथाले २५–१९ ले जितेको थियो ।
निर्णायक पाँचौँ सेटमा भने कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै १५–९ को जित निकालेर समग्रमा ३–२ ले जितेको हो । एनभीएलमा सहभागी ६ टोलीले सिंगल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्ने भएकाे हाे ।
दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्लेअफमार्फत फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुने भएकाे हाे।









प्रतिक्रिया दिनुहोस्