काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरधामस्थित श्री जानकी आँखा अस्पताललाई ६ महिनाभित्र सुधार गरी व्यवस्थित बनाउने बताउनुभएको छ ।
अस्पतालको निरीक्षण गर्दै सांसद झाले अस्पतालको भौतिक संरचना, जनशक्ति व्यवस्थापन र आर्थिक सुशासनमा सुधार गरी ६ महिनाभित्र देखिने परिवर्तन ल्याउने बताउनुभएको हो । जनकपुरधामको पहिचानसँग जोडिएको जानकी आँखा अस्पतालमा पर्याप्त भौतिक संरचना र आर्थिक स्रोत हुँदाहुँदै पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको उहाँले बताउनुभयो ।
अस्पतालमा करिव २२ करोड रुपैयाँ कोषमा रहेको उल्लेख गर्दै उहाँले उक्त रकम पूर्वाधार स्तरोन्नति र सेवा विस्तारमा उपयोग गर्ने बताउनु भयो । उहाँले अस्पतालको कमजोर व्यवस्थापन र कर्मचारीको कार्यशैलाई सुधार गर्न आवश्यक रहेको बताउनु भयो । अस्पतालको सुधारमा कर्मचारीबाट असहयोग भएमा कारबाही गर्ने उहाँको भनाई छ ।
काम नगरी तलब लिने वा अस्पतालको जिम्मेवारीमा रहेर अन्यत्र निजी व्यवसाय सञ्चालन गर्ने कर्मचारीमाथि कारबाही गर्ने उहाँले बताउनु भयो । विगतमा केही कर्मचारीले अस्पतालबाट तलव लिएर बाहिर औषधि पसलमा समय बिताउने गरेको उहाँको भनाई छ । त्यस्तै, गार्डेनरको तलब मासिक ७५ हजार रुपैयाँ रहेको तर अस्पताल परिसर व्यवस्थित नभई झाडीमा परिणत भएको उहाँले बताउनुभयो ।
उहाँले अस्पतालमा प्राविधिक जनशक्ति थप्ने र कर्मचारीको अनुपात मिलाउने बताउनु भयो । अस्पतालमा प्रशासनिक कर्मचारीको तुलनामा प्राविधिक जनशक्ति कम रहेको उहाँको भनाई छ । उहाँकाअनुसार अस्पतालमा करिव १० जना प्राविधिक र ३० जना प्रशासनिक कर्मचारी रहेका छन् । दुई जना सर्जनले मात्रै ठूलो अस्पतालको सेवा आवश्यकताअनुसार सञ्चालन गर्न कठिन हुने भन्दै उहाँले दक्ष चिकित्सक तथा प्राविधिक जनशक्ति थप्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘जानकी आँखा अस्पताल पनि जनकपुरको लागि एउटा परिचय हो । सीमावर्ती क्षेत्र भएकोले भारतबाट पनि धेरै बिरामीहरू उपचारको लागि यहाँ आउने गरेका थिए । तर बीचमा आएर दलीयकरण, अनावश्यक स्वार्थहरूले गर्दाखेरि यो ठाउँ अलि थलथलिएको थियो, अलि कमजोर, जर्जर अवस्थामा पुगेको थियो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आएपछि हामीले नयाँ नेतृत्व दिएर यसलाइ परिवर्तनका प्रयासहरू गर्दैछौँ । ६ महिनाको कार्यनीति बनाएर हामी यसमा काम गर्दैछौँ । यति ठूलो रिसोर्स छ, सहरको बीचमा २ बिघाभन्दा धेरै जमिन, यति भवनहरू, ७ सय भन्दा धेरैलाई दैनिक उपचार दिइराखेको, यति राम्रो ठाउँ । तर यसको सदुपयोग नभएको देख्दा चाहीँ दुःख लागेको छ ।
तर हाम्रो जिम्मेवारी हो पनि हो, यसको सदुपयोग गर्ने । भारतमा क्रिकेट कहिलेदेखि राम्रो भयो भने त्यहाँको एकजना राजनीतिज्ञ शरद पवार जब बिसीसीआईको अध्यक्ष हुनुभयो, अनि राम्रो भयो । त्यसपछि दलीयकरण के को लागि गर्ने ? दलीयकरण प्रगतिको लागि गर्ने हो, उत्साहजनक उन्नतिको लागि गर्ने हो । हामी पहिलाको जस्तै दलीय प्रतिनिधिहरूलाई नियुक्ति दिएर आम्दानीको स्रोत बनाउने, नेताहरूको प्लेनको टिकट किन्ने, होटलको बिल तिर्ने संस्थाको रूपमा यसलाई बनाउने छैनौ, ६ महिनामा हामी परिवर्तित जानकी आँखा अस्पताल देखाउने छौँ ।
कर्मचारीले पहिला–पहिला घाम तापेर तलब थाप्नुहुन्थ्यो, बाहिर औषधि पसलमा दिनभरि बस्नुहुन्थ्यो । यहाँको गार्डेनरको मात्र ७५ हजार तलब थियो, तर गार्डेन थिएन, यो जङ्गल थियो । त्यो कर्मचारीहरूलाई पक्कै अप्ठ्यारो लाग्छ, अब काम गर्न । तर कोही सही नियतले आउनुहुन्छ तर नेतृत्वले वा म्यानेजमेन्टले डिस्टर्ब गरिरहेको छ भने हामीले सुधार्नुपर्छ । तर यहाँको तलब थाप्ने, बाहिर काम गर्ने, यहाँको तलब थाप्ने, आफ्नो पसल चलाउने, गार्डेनरले ७५ हजार तलब खाने र जङ्गल बनाएर राख्नेहरूलाई त कारबाही हुनैपर्छ ।
अहिले यहाँ दुईजना मात्र सर्जनले यत्रो ठूलो प्रोपर्टी र दैनिक ७ सय जनालाई राम्रो सेवा दिन सक्दैन । त्यसैले त्यो थप्नुपर्छ । अनावश्यक प्रशासनमा कर्मचारी थपिएको छ । यहाँ प्राविधिक १० जना छ, प्रशासनिक ३० जना छ । तर अस्पतालमा प्रशासन १० जना, प्राविधिक ३० जना हुनुपर्ने हो । त्यसको रेसियो पनि मिलाउने छौँ ।’ सांसद झाले अस्पताललाई उपचारमा सिमित नराखी स्थानीय नागरिकसँग जोडिएको संस्थाका रूपमा विकास गर्ने बताउनुभयो ।
अस्पताल परिसरमा रहेको ठूलो खुला क्षेत्रलाई मर्निङ वाक, वाकिङ ट्रेललगायत नागरिकले उपयोग गर्न सक्ने संरचनामा विकास गर्ने उहाँको भनाई छ । धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय नागरिकसँग बनाएको सम्बन्धको उदाहरण दिँदै उहाँले जानकी आँखा अस्पताललाई पनि जनकपुरधामको पहिचान र नागरिकको अपनत्वसँग जोड्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जनकपुरको नागरिकले यो पनि मेरै ठाउँ हो है भन्ने संस्थाको रुपमा हामीले यसलाई विकास गर्नुपर्छ । यहाँ लगभग १० कठ्ठा जतिको एरिया ठूलो ग्राउण्ड छ, त्यसलाई हामीले नागरिकलाई प्रयोग गर्न सक्नेगरी वाकिङ ट्रेल, मर्निङ वाक गर्ने ठाउँ बनाइदिनुपर्छ । यसले नागरिक यो इन्स्टिच्युसनसँग जोडियोस् । धरानमा देखेका छौँ, बिपी कोइराला इन्स्टिच्युसनले यति राम्रो त्यो नागरिकलाई जोडेको छ ।
धरानको अहिले पहिचान नै त्यो इन्स्टिच्युसनले बनाएको छ । यो इन्स्टिच्युसनसँग पैसा नभएको होइन । २२ करोड रुपैयाँ फन्ड छ, तर त्यो फण्ड युज हुन सकेको छैन । यो इन्स्टिच्युसनहरूमा फण्डको कमी कहिले पनि हुँदैन तर त्यसलाई रणनीतिक रूपमा प्रयोग कसरी गर्ने, उपयोग कसरी गर्ने र त्यसको उपयोगिताले यसको उत्पादनशीलता, प्रोडक्टिभिटी कसरी बढाउँछ भन्ने कुराको रणनीतिक योजना चाहिन्छ ।
६ महिनामा पक्कै केही न केही सुधारको सूचकहरू हामीले देखाउन सक्छौँ ।’ जानकी आँखा अस्पताल जनकपुरधामको ऐतिहासिक पहिचानसँग जोडिएको संस्था भएको उहाँले बताउनु भयो । भारतको बिहारलगायत सीमावर्ती क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गरेको अस्पताल विगतमा दलीयकरण, स्वार्थ र कमजोर व्यवस्थापनका कारण प्रभावित भएको उहाँको दाबी छ ।
अस्पतालमा नयाँ नेतृत्व र व्यवस्थापनमार्फत सुधारका प्रयास भइरहेको बताउँदै उहाँले राजनीतिक नियुक्ति तथा संस्थाको स्रोतसाधनलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्ने दाबी गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्