२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


बिम्स्टेक सम्मेलन फलदायी : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, भदौ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन फलदायी भएको दाबी गरेका छन् ।

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बिम्स्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम एवं समीक्षा बैठकमा उनले आयोजना र निर्णय दुवै हिसाबले सम्मेलन फलदायी भएको दाबी गरेका हुन् ।

नेपालमा उत्पादित विद्युत् अरु देशहरुलाई बिक्री गर्न नेपाललाई चाहिने विद्युतीय ग्रीडका सम्बन्धमा भारत र बंगलादेशसँग विशेषरुपमा केन्द्रित भएर कुराकानी गरेको तथा म्यानमार र थाइल्यान्डसम्म बिजुली निर्यात गर्नसकिने उनको भनाइ थियो ।

नेपाल र नेपालीको हितलाई सर्वोपरी ठानेर बिम्स्टेक सम्मेलनमा छलफल गरी घोषणापत्र जारी गरिएको भन्दै बैठकमा उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने पनि बताए ।