काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मुलुकको आर्थिक, सामाजिक र बालबालिकाको पारिवारिक अवस्थालाई मध्यनजर गर्दै १३ देखि १५ वर्षसम्मका बालबालिकालाई निश्चित शर्तमा हलुका काम गर्न दिने प्रश्ताव गरिएको बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमाथिको सैद्धान्तिक बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपालमा ११ लाख बालबालिका श्रममा रहेको तथ्यांक उल्लेख गर्दै ती बालबालिकालाई श्रमबाट बाहिर निकाल्ने उद्देश्यले नै विधेयक ल्याइएको दाबी पनि गर्नुभयो ।
उहाँले बालबालिकालाई विद्यालयबाट निकालेर श्रममा लगाउने सरकारको उद्देश्य नभएको पनि स्पष्ट पार्नुभयो । बालबालिकाको पारिवारिक आर्थिक अवस्था तथा अभिभावकविहीन बालबालिकाको संरक्षण क्षमाता राज्यसँग छ कि छैन भन्नेकुरा मुख्य भएको उहाँको भनाइ छ । मन्त्री यादवले बालश्रम पूर्ण रूपमा निषेध गर्ने कानुन बनाउनुपर्ने भएपनि वर्तमान परिस्थितिमा त्यसले मात्रै समस्या समाधान नहुने बताउनुभयो । सोही कुरालाई मध्यनजर गर्दै सरकारले १३ देखि बालबालिकालाई निश्चित सर्तसहित हलुका काममा मात्र संलग्न गराउने प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।
उहाँले बालबालिकालाई श्रममा लगाउनुअघि बालबालिकाले शिक्षा, स्वास्थ्यलगायत आधारभूत अधिकार प्राप्त गरेका छन् वा छैनन् भन्ने सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी कुनैपनि बच्चालाई स्कुलबाट निकालेर काममा लगाउनुपर्छ भन्नेतर्फ छैनौँ । हामीले बच्चालाई स्कुलमा टिकाउनुपर्छ भन्ने पक्षमै हो । तर गरिबी, परिवारको आर्थिक स्थिति तथा परिवारमा कोही पनि अन्य सदस्य नभएको बच्चाको रेखदेख राज्यले गर्न सक्छ कि सक्दैन भन्ने कुरा मुख्य हो । खासमा हामीले बालश्रम नै निषेध गर्ने खालको कानून बनाउनुपर्थ्यो । तर त्यो समाधान हुन सक्दैन । यद्यपि बालश्रमको नियमन चाहीँ गर्नुपर्छ । सोही कारण हामीले बालबालिकाको वर्गीकरण गरेर बालश्रमको कुरा गरेका छौँ । देशको स्थिति हेरेर १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका श्रममा लगाउने प्रश्ताव गरिएको हो । त्यो १३ वर्षदेखि १५ वर्षको बालकले कस्तो काम गर्न पाउँछ भने कुनै परिवारमा आमाबुवालाई सघाउनलाई सामान्य किसिमको सहयोग गर्ने खालको । १३ वर्षको बच्चा त ७, ८ कक्षामा पढिरहेको हुन्छ नि त । त्यही भएर हलुका श्रम छ भने लगाउने नभए नलगाउने हामीले प्रश्ताव गरेका हौँ । श्रममा लगाउनुभन्दा पहिले उसले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत अधिकार पाएको छ कि छैन भन्ने कुरा हेर्नुपर्ने हुन्छ । उद्यपि विधेयकमा हामीले बालश्रम निषेध गर्ने, नियमन गर्ने, उद्धार, पुनःस्थापना र पुनरेकीकरण लगायतका कुराहरु समेत समेटेर यो प्रश्ताव गरेका हौँ ।’
प्रश्तावित विधेयकमा बालश्रम निषेध तथा नियमनसँगै बालबालिकाको उद्धार, पुनःस्थापना र पुनःएकीकरणसम्बन्धी व्यवस्था समेत समेटिएको उहाँको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्