काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले न्यायमा पहुँच नहुँदा लैङ्गिक हिंसापीडितहरु थप गरिबीको चपेटामा पर्ने गरेको बताउनुभएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा बुधवार आयोजित कार्यक्रममा उहाँले हिंसापीडितले समयमै न्याय, संरक्षण र पुनःस्थापना नपाउँदा थप गरिबीको चक्रमा धकेलिने गरेको बताउनुभएको हो । उहाँले लैङ्गिक हिंसालाई सामाजिक तथा मानव अधिकारको विषयमा मात्र सीमित नराखी यसको आर्थिक क्षतिको समेत मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।
नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र आठ प्रतिशतले यौन हिंसा भोगेको उहाँको भनाई छ । हिंसापीडितमध्ये ५८ प्रतिशत महिलाले कसैसँग सहयोग नमागेको र न्यायका लागि पहलसमेत नगरेको उहाँले बताउनुभयो । सामाजिक लाञ्छना, प्रतिशोधको डर, कानूनी सहायताको अभाव, न्यायिक प्रक्रियाको उच्च खर्च र आर्थिक परनिर्भरताका कारण अधिकांश हिंसापीडित न्यायको पहुँचबाट वञ्चित भइरहेको उहाँको भनाई छ ।
हिंसाका कारण प्रभावितको शिक्षा, रोजगारी, उत्पादकत्व र आयआर्जनमा प्रत्यक्ष असर पर्ने गरेको उहाँले बताउनुभयो । स्वास्थ्य उपचार, कानूनी प्रक्रिया, मनोसामाजिक परामर्श तथा अन्तरपुस्ता उत्पादकत्वमा पर्ने दीर्घकालीन असरसमेत जोड्दा लैङ्गिक हिंसाको आर्थिक क्षति अझ ठूलो हुने उहाँको भनाई छ ।
लैङ्गिक हिंसा अन्त्य र न्याय सुनिश्चितताका लागि गरिने लगानीलाई खर्चका रूपमा लिन नहुनेमा उहाँले जोड दिनुभयो । राष्ट्रको दिगो आर्थिक विकास र समृद्धिका लागि लैङ्गिक हिंसा अन्त्य गर्न आवश्यक लगानी गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले लैङ्गिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी प्रायः लैङ्गिक हिंसालाई सामाजिक वा मानव अधिकारको विषयका रुपमा मात्र हेर्ने गर्छौँ तर हिंसा प्रभावित व्यक्तिहरूले समयमै न्याय, संरक्षण र पुनस्र्थापना नपाएका व्यक्ति, परिवार र समग्र राष्ट्रले व्यहोर्नुपरेको आर्थिक लागत र क्षतिको पाटोलाई अझै पर्याप्त रुपमा लेखाजोखा गर्न सकेका छैनौँ । नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले शारीरिक हिंसा र ८ प्रतिशतले यौन हिंसा भोगेका छन् । अझ चिन्ताको विषय के छ भने हिंसा भोगेका ५८ प्रतिशत महिलाले न कसैलाई सहयोग मागेका छन्, न त न्यायको लागि ढोका नै ढकढकाएका छन् । सामाजिक लान्छना र प्रतिशोधको डर, कानूनी सहायताको अभाव, न्यायिक प्रक्रियाको लाग्ने उच्च खर्च र आर्थिक परनिर्भरताका कारण अधिकांश प्रभावितहरू न्यायको पहुँचबाट वञ्चित छन् । मन्त्रालयले यस अवस्थालाई गम्भीरतापूर्वक लिएको छ । जब एक हिंसा प्रभावित व्यक्तिले समयमै न्याय र संरक्षण पाउँदैनन्, त्यसले प्रत्यक्ष असर उनीहरूको शिक्षा, रोजगार, उत्पादकत्व र आयआर्जनमा पर्छ । न्यायमा सिमित पहुँच र समयमै प्रतिकार्य नहुँदा प्रभावित व्यक्तिहरू थप गरिबीको चक्रमा धकेलिएका छन्, लैङ्गिक हिंसाका कारण आयआर्जनमा हुने काममा अवरोध पुग्दा प्रत्यक्ष आर्थिक क्षति भइरहेको हुन्छ । यदि यसमा स्वास्थ्य उपचार, कानूनी प्रक्रिया, मनोसामाजिक परामर्श र अन्तरपुस्ता उत्पादकत्वमा पर्ने दीर्घकालीन असरलाई समेत जोड्ने हो भने यो क्षति अझ भयानक देखिन्छ । तसर्थ लैङ्गिक हिंसा अन्त्य गर्न र न्याय सुनिश्चित गरिने लगानी खर्च होइन, यो राष्ट्र दिगो आर्थिक विकास र समृद्धिका लागि अपरिहार्य लगानी हो । नेपालको संविधानले धारा ३८ को ३ ले प्रत्येक महिलालाई हिंसा विरुद्धको मौलिक हक सुनिश्चित गरेको छ भने घरेलु हिंसा कसूर सजाय ऐन २०६६, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार ऐन २०७१ र मुलुकी अपराध संहिता २०७४ लगायतका कानून कार्यान्वयनमा छन् । तर कानुनको तह अस्तित्व मात्र पर्याप्त हुन सक्दैन । संरचनागत अवरोध हटाउँदै न्याय प्रणालीलाई प्रभावमैत्री, छिटोछरितो र कम खर्चिलो बनाउनु आजको मुख्य आवश्यकता हो । यस दिशामा नेपाल सरकारले महत्वपूर्ण कदमहरू अगाडि बढाइरहेको छ । कुनै पनि व्यक्तिले आफ्नो सुरक्षा, न्याय र जीविकोपार्जनमध्ये एउटा रोज्नुपर्ने बाध्यता अन्त्य हुनुपर्छ । न्याय ढिलाइ हुनु भनेको प्रभावितको आर्थिक र सामाजिक भविष्यमाथि आघात पुग्नु हो । हिंसा प्रभावितको संरक्षण र दण्डहीनताको अन्त्य गर्दै न्याय पहुँच सुनिश्चित गर्न आर्थिक रूपले सबल र हिंसामुक्त समाज निर्माण गर्न एकजुट हौँ ।’
नेपालको संविधानले महिलाको हिंसाविरुद्धको मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले घरेलु हिंसा कसुर सजाय ऐन, २०६६, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार ऐन, २०७१ र मुलुकी अपराध संहिता, २०७४ लगायतका कानूनी व्यवस्था कार्यान्वयनमा रहेको बताउनुभयो । यदपी कानुनको अस्तित्व मात्र पर्याप्त नभएको उहाँको भनाई छ ।
न्याय प्रणालीलाई पीडितमैत्री, छिटोछरितो र कम खर्चिलो बनाउन संरचनागत अवरोध हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना तयार गरी हिंसाप्रति शुन्य सहनशीलता, मानव अधिकारको समानता, लैङ्गिक समानता, पीडितकेन्द्रित दृष्टिकोण, समन्वय र जवाफदेहितालाई प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो ।
कार्ययोजनामा सबै प्रकारका लैङ्गिक तथा प्रतिजन्य हिंसाको रोकथाम, प्रभावितको तत्काल उद्धार, संरक्षण र पुनःस्थापना, निःशुल्क कानुनी सहायता, द्रुत सुनुवाई तथा तीनै तहका सरकारबीच प्रभावकारी समन्वयका विषय समेटिएको उहाँको भनाई छ । लैङ्गिक हिंसा निवारण कोषमार्फत स्थानीय तहमा बीउपुँजी हस्तान्तरण, एकद्वार संकट व्यवस्थापन केन्द्र, सुरक्षित आवासगृह र निःशुल्क कानूनी सहायताको विस्तारमा सरकार क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो ।
हिंसापीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायमा सहज पहुँच सुनिश्चित गर्दै आर्थिक रूपमा सबल तथा हिंसामुक्त समाज निर्माणका लागि उहाँले सबै पक्षलाई एकजुट हुन आह्वान समेत गर्नुभयो ।






प्रतिक्रिया दिनुहोस्