काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. २९ मा अटिजम स्कुलको शिलान्यास गरेको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधवार बिहान स्कुलको शिलान्यास गर्नुभएको हो । वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयका साथमा भवन निर्माणका लागि जग पूजा र शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रमपछि आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले पढ्न पाउनुपर्ने र अरु सरह नै समान अधिकार पाउनुपर्ने बताउनुभयो । अटिजम भएका कारणले फिजिकल डिजिबिलेटी भएका कारणले गर्दा शिक्षाबाट वञ्चित हुन नपर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले शारीरिक अशक्तता भएकै कारणले शिक्षा लगायतको अधिकारबाट वञ्चित रहने बालबालिका धेरै रहेको भन्दै उनीहरुलाई सरकारले अधिकार दिनुपर्ने बताउनुभयो । महानगरले सबैको साझा सपनामा एउटा इँटा थप गर्ने काम मात्रै गरेको उहाँको भनाइ छ ।
काठमाडौंमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकहरूको सहयोग र सेवाको आवश्यकता बढ्दै गएको छ । यस बेला महानगरपालिकाले निर्माण गर्ने यो भवन अटिजम भएका विद्यार्थीहरूको सिप तथा ज्ञान अभिवृद्धि गर्न, तालिम तथा अध्ययन अनुसन्धान गर्न तथा यस्ता बालबालिकाका अभिभावकहरुको सहायताका लागि बहुउपयोगी हुने उहाँको विश्वास छ ।
डंगोलले भन्नुभयो, ‘हरेक बालबालिकाले पढ्न पाउने अधिकार छ । हरेक बालबालिकाले खेल्न पाउने अधिकार छ । हरेकले अवसर प्राप्त गर्ने, सँगै सम्मानपूर्वक बाँच्न पाउने हरेक बालबालिकाको समान अधिकार छ । तर यो भनिरहँदा पनि अटिजम भएका कारणले फिजिकल डिजिबिलेटी भएका कारणले गर्दा शिक्षाबाट वञ्चित हुने बालबालिका अझै पनि हाम्रै समाजमा छ । अझै पनि धेरै त्यस्ता बालबालिका हुनुहुन्छ, जो शिक्षाबाट वञ्चित हुनुहुन्छ । तर अटिजम लगायतका अरु इन्टिलेचल, फिजिकल डिजिबिलेटी यसका वाधक हुनुहुँदैन भनेर हामी सबैले परिकल्पना गरेको शहर हो काठमाडौं । देशको हरेक कुना काप्चामा पनि यो अधिकार प्राप्त गर्नका लागि फिजिकल इन्फास्ट्रक्चरदेखि हरेक व्यवस्था तय होस् भनेर हामीले साझा सपना बोकेका छौँ । साझा सपनाको लागि आज एउटा महत्वपूर्ण शुरुवात गरेका छौ । काठमाडौं महानगरपालिकाले आज काठमाण्डु स्कुल फर चिल्ड्रेन विद अटिजम एण्ड रिसर्च सेन्टरको शिलान्यास गर्नुको अर्थ यो भवनको शिलान्यास मात्र गरेको होइन । यसमा हामी सबैले कल्पना गरेको मानवताको शहर, करुणाको शहरमा एउटा इँटा थप्ने काम भएको हो ।’
वडाको प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने भवन ४५० दशमलव ८० वककर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट र चौडाइ पूर्व तर्फ ३५ फिट र पश्चिम तर्फ २२ फिटको हुनेछ । १७ मिटर उचाइको ५ तले भवनका हरेक तला ३ हजार वर्गफिटका हुनेछन् । ३ हजार ५ सय वर्गफिटको भूमिगत तलासहित भवन १८ हजार ५ सय वर्गफिटको हुनेछ ।
भवनको भुमिगत तलामा ३० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने ठाउँ हुनेछ । जमिन तलामा खुला भाग, भर्याङ् र लिफ्ट तथा भित्र पस्ने मुख्य ढोका हुनेछ । पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष हुनेछन् । चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष हुनेछ । पाँचौँ तलामा बार्दली हुनेछ । जमिन तलामा खेल्ने खुला भाग हुनेछ । लिफ्ट ८ जना क्षमताको हुनेछ । शौचालय तथा कोठाहरु पहुँचयुक्त हुनेछन् ।
भवन निर्माणका लागि १० करोड ९१ लख ७९ हजार ६०२ रुपियाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माणका लागि ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपियाँमा सम्झौता भएको छ । निर्माण पक्षलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको हो । २०८४ चैत मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेछ ।
भवनको डिजाइन सार्वजनिक निर्माण विभागबाट भएको हो ।






प्रतिक्रिया दिनुहोस्