Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


८२ वर्षीय ज्येष्ठ नागरिकबाट घ्याङलेखको प्रशासनिक भवन उद्घाटन


0
Shares

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले आफ्नो नवनिर्मित प्रशासनिक भवनको उद्घाटन जग्गादातामध्येका ज्येष्ठ नागरिक ८२ वर्षीय औतारसिंह भ्लोनबाट गराएको छ।

राजनीतिक दलका नेता तथा उच्च तहका जनप्रतिनिधिबाट भवन उद्घाटन र शिलान्यास गराउने प्रचलित अभ्यासलाई छाड्दै गाउँपालिकाले ज्येष्ठ नागरिकबाट भवन उद्घाटन गराएको हो।

आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले गाउँपालिकाबाट प्रदान हुने सेवा तथा सुविधा सहज रूपमा पाउने भएका छन्। लामो समयको प्रतीक्षापछि आफ्नै भवनबाट सेवा सञ्चालन गर्न पाउने भएपछि स्थानीयवासी उत्साहित भएका छन्।

गाउँपालिकाका अनुसार ६ करोड ९५ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न २०७८ असोजमा काम सुरु गरिएको थियो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदार कम्पनी पीपी–ईश्वरी जेभीले तीनपटक म्याद थप गर्दै पाँच वर्षमा मात्रै काम पूरा गरेको हो। निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीका कारण ढिलाइ भएको गाउँपालिकाले जनाएको छ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष जगतबहादुर भ्लोन र उपाध्यक्ष शंकरमान घलानलगायतले नयाँ भवनबाट सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिँदै नागरिकलाई छिटोछरितो सेवा दिन सहज हुने बताउनुभयो।