काठमाडौं । सञ्जु घिसिङको प्रेरणामा सुदूरपश्चिम प्रदेशले सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको महिला बास्केटबलमा समूहविजेता रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
तीन टोली रहेको समूह ‘बी’ को दोस्रो खेलमा सुदूरपश्चिमले मधेस प्रदेशमाथि सहज जित निकाल्यो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको कोर्टमा सुदूरपश्चिमले मधेशाई ४७–३ को फराकिलो अन्तरले हरायो ।
सुदूरपश्चिमको जितमा सञ्जुले सर्वाधिक १४ अंक योगदान गरिन् । सुदूरपश्चिमले चारै क्वाटरमा क्रमशः २०, ११, ४ र १२ अंक जोड्यो । मधेशले भने दोस्रो क्वाटरमा मात्र अंक जोड्न सक्यो । अन्य क्वार्टरमा सुदूरपश्चिमसामू मधेसले अंक जोड्न सकेन । सुदूरपश्चिमले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । यस समूहबाट अब बागमती र मधेशमध्ये एक टोली क्वार्टरफाइनलमा पुग्नेछ । बिहीबार यी दुईबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ‘ए’ बाट एपिएफ, नेपाल पुलिस र कर्णाली प्रदेश तीनै टोलीको क्वार्टरफाइनलमा सम्भावना बाँकी छ । पहिलो खेलमा एपिएफसँग पराजित नेपाल पुलिसले दोस्रो खेलमा जित निकाल्यो । यो नतिजासँगै तीनै टोलीको सम्भावना बनेको हो । बुधबार नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ ले सहजै हरायो । दिभा महर्जनले सर्वाधिक २० अंक जोडिन् । पहिलो क्वाटरमा कर्णालीले पुलिसलाई ८–४ ले पछि पार्यो । तर दोस्रो क्वार्टरमा पुलिस पूर्ण हाबी भयो र १७ अंकको अग्रता लियो । पुलिसले दोस्रो क्वाटरमा २०–३, तेस्रोमा १०–५ र चौथोमा १८–३ स्कोर गर्यो । बिहीवार एपीएफ र कर्णालीबीच प्रतिष्पर्धा हुनेछ ।
बिहीवार कोशी र गण्डकी तथा लुम्बिनी र आर्मीबीच प्रतिष्पर्धा हुनेछ । थ्री अन थ्रीमा नेपाल आर्मीले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । आर्मीले कोशी प्रदेशलाई १३–८ ले पाखा लगायो । आर्मीकी दिव्यान्सी कार्कीले ६ स्कोर गरिन् । तीन टोली रहेको समूह ‘ए’ बाट विजेता हुँदै आर्मी क्वार्टरफाइनलमा पुग्न सफल भयो । समूह ‘बी’ बाट वागमती पनि विजेताका रूपमा क्वाटरफाइनलमा पुगेको छ । वागमतीले मधेसलाई ८–३ ले पन्छायो ।
वागमतीकी आरुषा महर्जनले चार अंक बटुलिन् । बिहीवार कोशी र एपीएफ, मधेस र कर्णाली, गण्डकी प्रदेश र सुदूरपश्चिम तथा पुलिस र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । बिहीवार फुल कोर्ट र थ्री अन थ्री दुवैमा क्वाटरफाइनल समीकरण तयार हुनेछ ।






प्रतिक्रिया दिनुहोस्