२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


स्पेनिस ला–लिगामा साविक विजेता बार्सिलोनाको शानदार जित


0
Shares

काठमाडौं । स्पेनिस ला–लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले नवप्रवेशी क्लब हुएस्कालाई विशाल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले हुएस्कालाई ८–२ गोलको फराकिलोअन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले २–२ गोल गरे ।

खेलको तेस्रो मिनेटमै जुवान हर्नान्डेजको गोलबाट पाहुना टोली हुएस्काले खेलमा अग्रता बनाएको थियो । तर, १६ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

२४ औं मिनेटमा जोर्गे पुलिडोले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेल २–१ को अग्रता बनायो ।

३९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–१ को अवस्थामा पुर्‍याए ।

त्यसको तीन मिनेटपछि नै हुएस्काका फाल्गुएराले गोल गर्दै खेल ३–२ अवस्थामा ल्याए । दोस्रो हाफमा बार्सिलोनाले पाँच गोल थप्यो ।

४८ औं मिनेटमा डेम्बेलेले, ५२ औं मिनेटमा राकीटिच र ६१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ६–२ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा अलावा र ९० औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ८–२ को जित दिलाए ।

जितसँगै बार्सिलोनाले ३ खेलबाट ९ अंकका लिगको शीर्ष स्थानमा फर्किएको छ ।

गएराति नै भएको अर्को खेलमा डिपोर्टिभो एलाभेसले स्पानियोल बार्सिलोनालाई २–१ ले पराजित गर्दा लेभान्ते र भ्यालेन्सियाले भने २–२ गोलको बराबरी खेलेका छन् ।