९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


साफ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य


0
Shares

कुमार चौलागाई 

काठमाडौं, भदौ १७ । दशौं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी मंगलबारदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुँदैछ । 

सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो । त्यसअघि सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलङ्कामा खेलाइएको थियो । यी दुई प्रतियोगितासमेत जोड्दा यो साफको १२ औं संस्करण हुनजान्छ ।

बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्दिभ्स, बंगलादेश, अफगानिस्तान र श्रीलङ्काले एक÷एक पटक प्रतियोगिताको उपाधि जितिसकेका छन् । नेपाल, भुटान र पाकिस्तानले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । भारतले सन् १०९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको थियो । श्रीलङ्काले १९९५, बंगलादेशले २००३, माल्दिभ्सले २००८ र अफगानिस्तानले २०१३ मा उपाधि जितेका थिए । 

दुई पटक घरमै साफ च्याम्पियनसिप आयोजना गरिसकेको नेपालले प्रतियोगितामा सेमिफाइनलभन्दा माथिको नतीजा निकाल्न सकेको छैन । पछिल्लो पटक सन् २०१३ मा काठमाडौंमै भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुग्यो र अफगानिस्तानसँग पराजित हुँदै खेलबाट बाहिरियो । यसअघि सन् १९९३, १९९९, १९९५ र २०११ मा पनि नेपाल सेमिफाइनलसम्म पुगेको थियो । 

यो संस्करणमा समूह ए मा रहेको नेपालले पाकिस्तान, भुटान र आयोजक टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । तुलनात्मकरुपमा सजिलो समूहमा परेको नेपालका लागि इतिहास रच्ने अवसर जुरेको छ भन्नुपर्छ । 

नेपाली टोलीका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको पहिलो लक्ष्य समूहको विजेता हुँदै सेमिफाइनलसम्म पुग्ने बताए । महर्जनलाई प्रशिक्षणमा किरण श्रेष्ठ र नवीन महर्जनले सहायकको रुपमा साथ दिइरहेका छन् । 

‘प्रतियोगितामा भारतले यु–२३ टोली सहभागी गराउने र अफगानिस्तान साफबाट बाहिरिएको स्थितिका कारण नेपाल उपाधिको मुख्य दाबेदार बन्न पुगेको छ,’ उनले भने ।

करीब साढे दुई वर्षदेखि नेपाली टोलीलाई प्रशिक्षण दिने जिम्मेवारी सम्हाल्दै आएका जापानी प्रशिक्षक ग्योतोकु कोजी प्रवेशाज्ञाका कारण जापान फर्किएका छन् । उनको स्थान महर्जनले लिएका छन् । नेपाली टोली साफ च्याम्पियनसिपलाई लक्ष्य गरी तीन महिनादेखि बन्द प्रशिक्षणमा छ । यसबीचमा नेपालीे युवा टोलीले एशियाली खेलकूदमा सहभागिता जनाएको छ भने थाइल्याण्डको युवा टोलीसँग मैत्रीपूर्ण खेल पनि खेलिसकेको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) मा यो वर्ष नयाँ नेतृत्व आएको छ । दुई दशकभन्दा बढी एन्फा हाँकेको पूर्व कप्तान गणेश थापा समूहलाई कर्मा छिरिङ शेर्पा समूहले विस्थापन गरेको छ र यसले आफूलाई परिवर्तनको पक्षधर भएको दावा गर्छ । फुटबलको विकासमा कुनै कसर बाँकी नराख्ने बताउने वर्तमान नेतृत्वले अहिले फुटबलको विकासका लागि ‘ग्रासरुट’ फुटबल प्रतियोगितासमेत शुरु गरिरहेको छ ।

साफ च्याम्पियनसिपको तयारीमा रहँदै गर्दा दुई साताअघि नेपालको यु–२३ टोलीले इण्डोनेसियामा एशियाली खेलकूदमा सहभागिता जनायो । समूह डी मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेलेको थियो तर, तीनै खेलमा पराजित भयो ।

सहायक प्रशिक्षकको भूमिकामा इण्डोनेशिया गएका प्रशिक्षक महर्जनले आफ्नै कमजोरीका कारण एशियाली खेलकूदमा हार बेहोर्नुपरेको स्वीकार गरे । त्यसै कमजोरीलाई सच्याएर साफमा राम्रो प्रदर्शन गर्ने उनको अठोट छ । 

साफ च्याम्पियनसिपको सात पटकको विजेता तथा साविक विजेता भारतले यसपटक यु–२३ टोलीलाई खेल्न पठाउने निर्णय गरेको छ । भारतीय प्रशिक्षक स्टेफन कन्स्टेन्टाइनले यु–२३ टोलीको घोषणा गरिसकेका छन् र यो टोलीले अष्ट्रेलियामा विशेष तयारी गरिरहेको छ । 

भारतको यो निर्णय नेपालका लागि सुखद हुनसक्छ । दक्षिण एशियाली फुटबलमा नेपालले हराउन बाँकी कुनै टोली छैन । तर, एकै प्रतियोगितामा सबैलाई हराउन सकेको छैन । विगतमा पटक पटक नेपालका अगाडि बाधकको रुपमा भारत नै देखाप¥यो । माल्दिभ्सको टोलीमा पनि उसका भेट्रान स्टाइकर अली अस्फाक छैन र उनको अनुपस्थितिमा टोली मनोवैज्ञानिक रुपमा कमजोर हुने ठानिएको छ । श्रीलंका र पाकिस्तान फिफा वरियतामै नेपालभन्दा तल छन् । 

पछिल्लो फिफा वरियतामा दक्षिण एशियाली मुलुकमध्ये भारत सबैभन्दा अग्रस्थानमा छ । भारत ९६ औँ स्थानमा रहँदा १५० औँ स्थानमा माल्दिभ्स, १६१ औँ स्थानमा नेपाल, १८३ औँ स्थानमा भुटान, १९४ औँ स्थानमा बंगलादेश, २०० औँ स्थानमा श्रीलंका र २०१ औँ स्थानमा पाकिस्तान छ । 

दक्षिण एशियाली खेलकूदमा नेपालको चीर प्रतिद्वन्द्वीका रुपमा रहेको भारतले आफ्नो ‘सिनियर’ टोली नखेलाउने भएपछि नेपालले त्यसको फाइदा उठाउन सक्छ । तीन वर्षअघि साग गेम्समा नेपालको युवा टोलीले भारतको यु–२३ टोलीलाई हराउँदै स्वर्ण जितेको थियो । 

त्यसैगरी, सन् २०१३ मा काठमाडौँमा भएको साफ च्याम्पियनसिप र सन् २०११ मा भारतमा भएको साफ च्याम्पियनसिपमा अफगानिस्तानले नेपाललाई पराजित गरेको थियो तर, यस पटक प्रतियोगितामा अफगानिस्तान समावेश छैन । सन् २०१३ को च्याम्पियन अफगानिस्तान सेन्ट्रल एशिया फुटबल फेडेरेशनको संस्थापक सदस्यको रुपमा उतैबाट फुटबल खेल्ने निर्णय गरी साफबाट बाहिरिसकेको छ । 

आसन्न साफ च्याम्पियनसिप ढाकाको बंगबन्धु रंगशालामा हुँदैछ । यो त्यही मैदान हो जहाँ नेपालले दुई वर्षअघि बंगबन्धु गोल्डकप फुटबलको उपाधि उचालेको थियो । त्यो पनि बालगोपालकै प्रशिक्षणमा । त्यो नेपालले सन् १९९३ पछि जितेको सबैभन्दा ठूलो उपाधि थियो । त्यसले लामो समयदेखिको पदकविहीनता स्थितिलाई तोेडेको थियो । त्यस्तै, सन् १९९३ मा बंगलादेशको ढाकामा भएको दक्षिण एशियाली खेलकूदमा नेपाल स्वर्णविहीन हुँदै घर फर्कनुपर्ने अवस्था आउन लागेको थियो । फुटबलको स्पर्धा मात्र बाँकी थियो । नेपालले बंगलादेशको राष्ट्रिय रंगशालामा भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै स्वर्ण जित्न सफल भयो । त्यतिबेला राष्ट्रिय टोलीका सदस्य रहेका बालगोपाल अहिले मुख्य प्रशिक्षकको भूमिकामा छन् ।

भदौ १९ देखि ३० गतेसम्म जारी रहने प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेल भदौ १९ गते पाकिस्तानसँग, दोस्रो खेल २० गते भुटानसँग र समूह चरणको अन्तिम खेल बङ्गलादेशसँग भदौ २२ गते खेल्नेछ । 

प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, भारत, माल्द्विभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’ मा छन् । भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा परेका छन् । 

नेपाली टोलीमा गोलरक्षक किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने छन् । डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल छन् । मिडफिल्डमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का रहनुभएको छ भने फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् । (रासस)