Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


गौरा पर्व शुरु, यस्तो छ यो पर्वको मान्यता (भिडियो)


0
Shares

बिराज रोस्यारा

कैलाली, भदौ १६ । सुदुरपश्चिमको महान चाड गौरा पर्व विधिवत रुपमा सुरु भएको छ । भाद्र कृष्ण शुक्ल पञ्चमीदेखी आरम्भ भएको गौरा पर्व अष्टमीसम्म चल्नेछ ।

भाद्र पञ्चमीका दिन महिलाहरुले ब्रत बसी गहुँ, केराऊ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा पञ्चअन्नलाई धोएर भिजाउने गर्दछन् । यिनै पाँच अन्नको मिश्रणलाई विरुडा भन्ने गरिन्छ भने यस दिनलाई विरुडा पञ्चमीका नामले चिन्ने गरिन्छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकैका मठमन्दिरमा भित्र्याएर पुजा अर्चना गरी विवाहित महिलाहरुले दुबो धागो चढाउने गर्दछन् भने अठबाली अर्थात गौराअष्टमीका दिन निराहार ब्रत बसेर गौरापर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पुजा अर्चना गर्दछन् ।

गौरा पर्वको प्रमुख आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यतिमात्रै नभएर सामाजिक कुरीति, विकृति–विसंगतीविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ ।

महिलाहरुले यस अवसरमा आ–आफ्ना सुख–दुःख देउडाका माध्यमवाट व्यक्त गर्दछन् ।

गौरा बिसर्जन नगरिएसम्म गौरा घर, विभिन्न चौतारा तथा सार्वजनिक स्थलहरुमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलवद्ध भई स्थानीय लोक भाकामा देउडा, चैतली, धुमरी, ढुस्कोलगायतका भाकामा देउडा खेल खेलेर मनोरञ्जन गर्ने गर्दछन् ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्कालाई दुःख–सुख बाँड्नुका साथै सामाजिक सद्भाव कायम गर्ने गरिन्छ । गौरापर्वमा काम विशेषले घर बाहिर गएकाहरु पनि घर फर्कने गर्दछन् ।

हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन निराहार ब्रत बसेको आधारमा गौरा पर्व मनाउने धार्मिक मान्यता रहँदै आएको छ । 

अनुकुल तिथि हेरी बिसर्जन गरिने गौरा पर्वले समाजमा धार्मिक आस्था, आपसी सद्भाव वढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा ब्रत बसि पुजा–अर्चना गर्नाले सुख–शान्ति प्राप्त हुने, ईष्टकुल देवता प्रशन्न हुने जनविश्वास रही आएको छ ।

दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुरलगायतका सुदुरपश्चिमका जिल्लामा आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुरुप फरक–फरक दिन पारेर गौरा पर्व मनाईने र समापन गर्ने गरिन्छ । सुदुरपश्चिमको मौलिक धार्मिक संस्कृतिलाई समेट्ने गरी मनाईने गौरा पर्व सुदुरपश्चिमसँगै भारतको कुमाउ गढ्वालमा समेत मनाउने गरिन्छ ।

भिडियो हेर्नुहोस्