खुशी माया गुरुङ,लमजुङ ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–८ स्थित भुस्मे गाउँ बेमौसमी तरकारी खेतीमार्फत जिल्लाकै नमुना कृषि बस्तीका रुपमा परिचित बन्दै गएको छ ।
उर्वर भूमि, अनुकूल हावापानी र किसानको मेहनतले गाउँमा व्यावसायिक तरकारी खेती विस्तार हुँदै जाँदा कृषि र पर्यटन दुवै क्षेत्रमा नयाँ सम्भावना देखिएको छ । गाउँका किसानले करिब एक सय रोपनी क्षेत्रफलमा बेमौसमी काउली, बन्दागोवी, काँक्रोलगायतका तरकारी व्यावसायिक रुपमा उत्पादन गरिरहेका छन् ।
स्थानीय किसान होमराज तामाङका अनुसार गाउँका ५२ घरधुरीमध्ये ४० घरधुरी प्रत्यक्ष रुपमा बेमौसमी तरकारी खेतीमा आबद्ध छन् । उत्पादन भएका तरकारी बेसीशहर, खुदी, सुन्दरबजारलगायतका स्थानीय बजारमा बिक्री हुँदै आएका छन् ।
बेमौसमी तरकारी खेतीबाट मात्रै एक घरधुरीले एकै मौसममा करिब एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
तरकारीबाहेक किसानहरुले आलु, गोलभेँडा, काँक्रो, कालो तथा रातो भटमासको पनि व्यावसायिक खेती गर्दै आएका छन् । पछिल्लो समय उच्च मूल्यमा बिक्री हुने अकबरे खुर्सानी खेती सुरु भएपछि किसान थप उत्साहित बनेका छन् । आधुनिक कृषि प्रविधिको प्रयोग, जैविक मलको उपयोग र बजारसँगको पहुँच विस्तारसँगै यहाँको कृषि व्यवसाय थप व्यवस्थित बन्दै गएको छ । बर्खायाममा समेत उत्पादन हुने ताजा तरकारीले स्थानीय बजारको माग पूरा गर्नुका साथै किसानका लागि नियमित आम्दानीको स्रोत बनेको छ ।
कृषिसँगै भुस्मे गाउँमा पर्यटनको सम्भावना पनि विस्तार हुँदै गएको छ । गाउँमा सञ्चालित होमस्टे, हरियालीले ढाकिएका खेतबारी, ग्रामीण जीवनशैली र प्राकृतिक सौन्दर्यले कृषि अवलोकन तथा ग्रामीण पर्यटनका लागि भुस्मेलाई आकर्षक गन्तव्य बनाइरहेको छ । कृषि अर्थविज्ञहरुका अनुसार पहाडी क्षेत्रमा बेमौसमी तरकारी उत्पादनले किसानको आय वृद्धि, रोजगारी सिर्जना र खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याएको छ ।
सिँचाइ, कृषि सडक, भण्डारण र बजारीकरणमा सरकारी सहयोग बढाउन सके भुस्मे गाउँलाई जिल्लाकै कृषि उत्पादन केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना रहेको कृषि विज्ञहरुको भनाई छ । स्थानीय सरकार र सम्बन्धित निकायबाट प्रविधि तथा बजारीकरणमा निरन्तर सहयोग प्राप्त भए भुस्मे गाउँले कृषि उत्पादनसँगै कृषि पर्यटनको क्षेत्रमा पनि नयाँ पहिचान स्थापित गर्ने विश्वास स्थानीय किसानहरुको छ ।
बेमौसमी तरकारी उत्पादनबाट किसानको आम्दानी बढ्दै जानुका साथै गाउँको आर्थिक गतिविधि पनि चलायमान बनेको छ । आवश्यक पूर्वाधार र सरकारी सहयोग थप प्रभावकारी बन्न सके भुस्मे गाउँ लमजुङकै कृषि र कृषि पर्यटनको नमुना गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्