Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


कैदीबन्दी बिरामीलाई न उपचार न पोषण


91
Shares

काठमाडौं । कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा राखिँदा स्वास्थ्य सेवा, पोषण लगायत सुविधाको अभाव देखिएको छ। उचित स्वास्थ्य सेवा र पोषण अभावमा कतिपय कैदी र थुनुवाको ज्यान जोखिममा परेको पाइएको छ। अहिले देशभरिका कारागारमा २७ हजार कैदीबन्दी छन्। देशभरिका कैदीबन्दीका लागि सुविधायुक्त अस्पताल भने एउटा मात्रै छ। यसले गर्दा कैदीबन्दीले बिरामी पर्दा समयमै सेवा पाउन सकेका छैनन्।

काठमाडौं सुन्धारास्थित केन्द्रीय कारागार अस्पताल ३० शड्ढयाको छ। अन्य कारागारमा प्राथमिक स्वास्थ्य जाँचपछि गम्भीर प्रकृतिका बिरामीलाई केन्द्रीय कारागार अस्पताल ल्याएर उपचार गर्ने व्यवस्था छ। केन्द्रीय कारागार अस्पतालमा बिरामीको चापले गर्दा समयमै भरपर्र्दो सेवा पाउन कठिन छ। बिरामी कैदीबन्दीको उपचारसँगै पोषणमा राज्यले पर्याप्त ध्यान दिन नसक्दा कतिपयको मृत्यु हुने गरेको छ। कैदीबन्दीको नियमित स्वास्थ्य जाँच र बिरामी पर्दा पोषणयुक्त खानेकुराको प्रबन्ध मिलाउनुपर्ने राज्यको दायित्व हो।

तर त्यो दायित्व पूरा गर्नबाट राज्य चुकेको छ। केन्द्रीय कारागारका एक हजार दुई कैदीबन्दीले अहिले चिकित्सकको निगरानीमा नियमित औषधि सेवन गर्छन्। सात सय ग्राम मोटा चामल र ६० रूपैयाँले छाक टार्नुपर्ने अवस्थामा कैदीबन्दी छन्। बिरामीले भने सामान्य कैदीबन्दीले भन्दा १० प्रतिशत बढी रूपैयाँ पाउँछन्। यसले पोषणयुक्त खानेकुरा र सहज उपचारको प्रबन्ध गर्न कठिन छ। एक हजार चार सय कैदीबन्दीको क्षमता भएको सुन्धारास्थित केन्द्रीय कारागारमा अहिले तीन हजार चार सय ५९ जना छन्। त्यसैसँगै रहेको ३० शड्ढयाको केन्द्रीय कारागार अस्पतालमा देशभरबाट दैनिक सरदर २० जना बिरामी उपचारका लागि आउँछन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।