१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


३० वर्षदेखि ओढारको बास


0
Shares

बैतडी । बैतडीको मेलौली नगरपालिका–३ ढणौनका नरबहादुर चन्द विगत ३० वर्षदेखि ओढारमा बस्दै आएका छन् । ६४ वर्षका उनी सामान्य मानिसले सहजै पुग्न नसकिने अप्ठ्यारो भीरको ओढारमा बस्दै आएका छन् ।

ओढारभित्र उनीसँग कुच्चिएका स्टील र प्लास्टिकका भाँडाकुँडा तथा कसैले फालेर छाडेका झुत्रिएका लुगाबाहेक केही छैन । चन्दको मानसिक अवस्था सुस्त छ । आमाबुबाको मृत्यु भएदेखि नै चन्द त्यही ओढारमा बस्दै आएको स्थानीयवासी बताउँछन् ।

एक्लो सन्तानका रूपमा रहेका चन्द बाल्यकालमै बुबासँग भारत गएका थिए । भारतमा रहेका बखत बेपत्ता भएका चन्द ३५ वर्षपछि घर फर्किए । मानसिक अवस्था सुस्त भएका उनी घर फर्किएको केही समयपछि आमाबुबा गुमाएकाले त्यसपछि घरमा बस्नै छोडे ।

उनी छरछिमेकीको दाउरा बोक्ने, सरसामान ओसार्नेलगायत सकेको अनुसारको काम गरी बेलुका चामल किनेर ओढारमा फर्किने गरेका छन् । गाउँमा मानसिक सन्तुलन गुमाएका भनिए पनि उनमा त्यस्तो लक्षण खासै केही देखिँदैन ।

एकसरो लुगासमेत नरहेका उनी दिनैभर गाउँलेको काम गरेर जीवन चलाइरहेका छन् । ‘एक्लाको हातबाट घर बन्दैन, कसरी घरमा बस्ने ?’ उनी भन्छन्, ‘ओढारमा बस्दा निकै चिसो हुन्छ, साँझपख हावाहुरी चल्छ, पछि निकै चिसो हुन्छ, पानी परेको समयमा बस्नै सकिन्न, लुगा छैन ।’

दिनैभर गाउँ चहारेर बेलुका ओढारमा फर्किने चन्दका अधिकांश रात भोकै बित्ने गरेको छ । ‘दिनदिनै कहाँबाट पकाउने ? कसैले पैसा दिएपछि किन्छु, अन्न सागपात दिए ल्याएर पकाउँछु, नत्र भोकै सुत्छु,’ उनी भन्छन् ।

चन्द कुनै पनि जिज्ञासाको छोटो जवाफ दिन्छन् । कसैलाई कुट्ने, गाली गर्ने, झम्टने, चोरी गर्ने लगायतका कुनै पनि अवाञ्छित काम नगरेको नरबहादुरका भतिजासमेत रहेका पंकज चन्द बताउँछन् । घरमा बस्नका लागि धेरै प्रयास गरिएको भए पनि नमान्ने उनको भनाइ छ । ‘हामीले घरमा बस्नु भनेर धेरै आग्रह ग–यौं, तर मान्दैनन्,’ भतिजा पंकजले भने ।

कुनै दातृ निकाय र संघसंस्थाद्वारा उपचार गराउनसकेमा शारीरिक र मानसिक अवस्था निको हुने विश्वास गरिएको वडा सदस्यसमेत रहेका आफन्त शेरबहादुर चन्द बताउँछन् ।

‘एकोहोरो दिमाख चल्छ, दयनीय अवस्थामा टोपी खस्ने भीरको ओढारमा बस्दै आएका छन्, तिनलाई घरमा राख्ने हरसम्भव प्रयास गरिएको हो तर सकिएन, कुनै निकायले सहयोग गरेमा निको हुन्थ्यो कि भन्ने लाग्छ,’ वडा सदस्य चन्द भन्छन् ।

घर परिवारका एक्ला सदस्य भएकाले आर्थिक अभावमा उपचारका लागि लैजान नसकिएको आफन्त बताउँछन् । उनको अवस्थाका विषयमा जानकारी पाएका केही स्थानीय संघसंस्थाले खाद्यान्न र लुगा कपडा वितरण गरेका छन् भने उपचार गराउनसक्ने खालका संघसंस्था उनीसमक्ष पुगेका छैनन् । (साभार : राजधानी दैनिक)