अबको केहि वर्षमा तीन पार्टी रहन्छ, माओवादी विलय हुन्छ : रवीन्द्र मिश्र « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


अबको केहि वर्षमा तीन पार्टी रहन्छ, माओवादी विलय हुन्छ : रवीन्द्र मिश्र


२५ कार्तिक २०७९, शुक्रबार १६:१६

8.645k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)लाई पेण्डुलम पार्टी भएको बताउनुभएको छ ।

अबको केही वर्षमा नेपालमा जम्मा ३ वटा पार्टी मात्रै बाँकी रहने दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले मुल रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र नेपाली कांग्रेस पार्टी मात्रै हुने बताउनुभएको हो ।

उहाँले नेकपा (माओवादी केन्द्र) अबको केही वर्षभित्र पेण्डुलम बनेर एक अर्काको पछि लाग्ने वा विलय हुने बताउनुभयो । उहाँले ३ पार्टीमध्ये दुई पार्टी एमाले र कांग्रेस एउटै कित्तामा दुई नामका पार्टी मात्रै भएको बताउनुभयो । उहाँले यी दुवै पार्टी लगभग प्रचण्डीकरण भइसकेको उल्लेख गर्दै एमाले र कांग्रेसलाई जति गाली गरेपनि प्रचण्डपथमा नै हिँडेको बताउनुभयो ।

उहाँले देशको धर्म, संस्कृति, अस्तित्व, स्वाभिमान, भुगोल, पहिचान, जाति, भाषाभाषी सबै जोगाउनुपर्ने दायित्व अब राप्रपालाई रहेको बताउनुभयो । उहाँले आसन्न निर्वाचनबाट राप्रपाले प्रगतिशील जगमा देशलाई रुपान्तरण गर्ने बताउनुभयो ।

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहनुभएका वरिष्ठ उपाध्यक्ष मिश्रले काँग्रेस नेता स्व.गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दाबी समेत गर्नुभयो । उहाँले संघीयता देशको लागि उपयुक्त नभएको उल्लेख गर्दै संघीयतालाई जतिसक्दो चाँडो खारेज गर्नुपर्ने माग गर्नुभयो ।