Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


‘किरात’ प्रदेशको माग गर्दै यायोक्खाले बुझायो सोलुका उम्मदवारलाई ज्ञापन–पत्र


13
Shares

सोलुखुम्बु । पहिलो कार्यकालमा नाम राख्न नसकेको प्रदेश नं १ को नाम ‘किराँत’ राख्न माग गर्दै किराँत राई यायोक्खा केन्द्रीय कार्य समितिले सोलुखुम्बुका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुलाई ज्ञापन–पत्र बुझाएको छ ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका उम्मेदवारलाई प्रदेश १ को नाम नेपालकै प्राचीन किरात सभ्यता, इतिहास, संस्कृति, भाषा र भूगोलको पहिचानको आधारमा किरात राखिनेछ भनी स्पष्ट रुपमा प्रतिबद्धता जाहेर गरिदिन ध्यानाकर्षण गराउँदै सोलुखुम्बुका उम्मेदवारहरुलाई सल्लेरीमा एक कार्यक्रमको आयोजना गरी ज्ञापन–पत्र बुझाइएको हो ।

किरात राई यायोक्खा केन्द्रीय कार्य समितिको आयोजना, यायोक्खा प्रदेश १ कार्य समितिको संयोजन तथा सहजीकरण र यायोक्खा सोलुखुम्बुको व्यवस्थापनमा सदरमुकाम सल्लेरीमा किरात प्रदेश नामकरण सम्बन्धी प्रदेश र संघका उम्मेदवारहरुसँग अन्तरक्रिया र सांगठानिक अभिमुखीकरण कार्यक्रम समेत भएको छ ।

किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका सचिव सुमन राईले सोलुखुम्बुका प्रदेशसभा ‘क’ का लागि नेकपा एमालेका उम्मेदवार उत्तमकुमार बस्नेत र प्रदेश सभा ‘ख’ का गठबन्धनतर्फका माओवादी केन्द्रका उम्मेदवार शिवबहादुर बस्नेतलाई ज्ञापन–पत्रका साथमा निप्सुङ र किरात सभ्यता नामक पुष्तक प्रदान गर्नुभयो ।

किरात जातको रुपमा बुझेकाले समस्या आएको भन्दै सभ्यताको रुपमा बुझिदिन आग्रह गर्दै त्यसरी बुझ्दा समस्या हल हुने यायोक्खाको भनाइ छ । सोलुखुम्बु प्रदेशसभा ‘क’ का लागि एमालेका उम्मेद्वार उत्तमकुमार बस्नेतले प्रदेशको नामाकरणको विषयमा जनताको मागलाई पहिलो प्राथमिकतामा राख्ने बताउँदै किरात प्रदेश राख्न कुनै समस्या नभएको तर किरात सभ्यता हो भनेर मतदातालाई बुझाउन नसक्दा समस्या आएको बताउनुभयो ।