
जकार्ता, भदौ ६ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)मा पदकको आशा गरिएको खेल तेक्वान्दोमा बुधबार पनि नेपाल निराश हुनुपर्यो ।
तेक्वान्दोका वीरबहादुर महराले एक खेल जिते पनि ‘राउन्ड अफ सिक्सटिन’मा पराजित भए ।
पुरुष ६३ केजीमुनिको तौल समूहमा वीरबहादुरलाई राउन्ड अफ सिक्सटिनको खेलमा काजखस्तानका तुमेनबायार मोलोमले ३०–१९ ले हराएका हुन् ।
यसअघि, बुधबारै अन्तिम ३२ चरणको खेलमा वीरबहादुरले अफगानिस्तानका अहमद बक्सीलाई २४–१३ ले पराजित गरेका थिए ।
अफगान खेलाडी बक्सी सन् २०१६ मा भारतको गुवाहाटीमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा स्वर्णपदकधारी खेलाडी हुन् । त्यतिबेला बक्सीसँग हारेका वीरबहादुरले रजतपदक जितेका थिए ।
बुधबार तेक्वान्दोकै पुरुष ८० केजीमुनिको तौल समूहमा नेपालका भूपेन श्रेष्ठ अफगानिस्तानका रमेश हुसैनीसँग प्वाइन्ट ग्यापको आधारमा २८–७ ले पराजित भए ।
तेक्वान्दोमा अब नेपालका दुई खेलाडीले बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष ६८ केजीमुनिको तौल समूहमा ज्ञानेन्द्र हमालले भुटानका जिग्मे वाङ्चुकसँग खेल्दा महिला ४९ केजीमुनिको तौल समूहमा अस्मिता खड्काले इरानकी नाहिदकियानी चान्हेसँग खेल्नेछिन् ।
प्रतिक्रिया दिनुहोस्