मानसिक स्वास्थ्यमा योग « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


मानसिक स्वास्थ्यमा योग


273
Shares

चन्द्र कटुवाल

शरीर र मन एक-अर्काका परिपूरक हुन । शरीरमा समस्या भएमा मनमा असर पर्दछ र मनमा समस्या भएमा विभिन्न किसिमका मानसिक रोगहरु उत्पन्न भएर अन्तत शरीरलाई नै असर गर्दछ । हामीले शारीरक स्वास्थ्य जतिकै मानसिक स्वास्थ्यमा ध्यान दिएका हुँदैनौं । तर मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य भन्दा कम महत्वको हुँदैन । मानसिक रुपमा स्वस्थ रहनु उत्तिकै महत्व छ ।

तैत्तिरिय उपनिषदमा पञ्चकोष मोडलको बारेमा उल्लेख गरिएको छ । योग थेरापी पनि यहि मोडल अनुसार तयार पारिएको हुन्छ । पञ्चकोष मोडल भन्नाले पाँचवटा शरीर भन्ने बुझिन्छ । ति पाँच वटा शरीरहरु निम्न छन् ।

१. अन्नमयकोष अथवा अन्नमय शरीर : देखिने शरीर अर्थात हाम्रो यो भौतिक शरीर । यसको व्यवस्थापनको लागि षटकर्म , योगाशन मुद्रा तथा बन्धहरु अपनाईन्छ ।

२. प्राणमय कोष अर्थात प्राणमय शरीर : यसको लागि प्राणायामहरु गरिन्छ ।

३. मनोमय कोष अर्थात मन : मनलाई हाम्रो अधिनमा राख्नको लागि ध्यान प्रभावकारी मानिन्छ ।

४. विज्ञानमय कोष : यसको लागि मनोपरामर्स तथा ज्ञानगुनका कुराहरु पर्दछन ।

५ . अन्तिम कोष अर्थात आनन्दमय कोष : जसको लागि कर्मयोग, दान तथा सेवाभावका कार्यहरु गरिन्छ ।

मानसिक स्वास्थ्यमा तनावलाई नसर्ने रोगहरुको कारक तत्व मानिन्छ । योगले तनाव व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको बिभिन्न अनुसन्धानले देखाएका छन् । हामीले तनावको कारण भन्दा पनि यसको असरलाई मात्र ध्यान दिन्छौ । र तनाव व्यवस्थापनको क्षणिक उपाय खोज्छौ । साथै तनाव लिनु हुदैन भन्ने सबैलाई थाह छ । तर पनि लिन्छौं । थाह भएर मात्र हुदो रहेनछ , त्यसको लागि अभ्यास गर्नुपर्दछ । त्यो अभ्यास भनेको योग नै हो । जसले केवल मन मात्र नभएर पाँचैवटा शरीरको व्यवस्थापन गर्दछ ।

बढ्दो उमेरको जिम्वेवारी र खानपानसँगै मानिसका उच्च आकांक्षाहरु थपिदै जान्छन् । सबै कुराहरु आफुले सोचे अनुसार प्राप्त हुँदासम्म मनस्थिति ठीक रहन्छ । तर सामाजिक तौरतरिका, प्रतिस्पर्धा, लोभ, मोह,काम–क्रोध जस्ता कारक तत्वहरुले मानसिक तनाव सिर्जना गर्न सक्छ । तनावका बिभिन्न कारण हरु हुन सक्छन् । जसमध्ये काम, अर्थ,ब्यक्तिगत तथा पारिवारिक सम्बन्धहरु पनि तनाबका कारण बन्न सक्छन् । प्रविधिको बिकाससँगै आधुनिक जीवनशैली पनि आजको समयमा तनावको कारण बन्दै गइरहेको छ । सर्वसुलभ सुबिधाहरुको उपभोग बढदै जाँदा मानिस शारीरिक रुपमा नै दिनानुदिन मेहनत कम र आराम ज्यादा खोज्दै गईरहेको छ । फलस्वरुप युवादेखि बृद्धावस्था सम्मका ब्यक्ति हरु तनावग्रस्त भएको पाइन्छ ।

यी तमाम समस्याबाट राहत पाउने एउटै उपाय भनेको योग नै हो । बिज्ञान र आध्यात्मको समिश्रण बिधिबाट परिमार्जित कैयौं योगाशनहरु तनाव ब्यवस्थापनका समाधान बनिरहेका छन् । योग आफैले गर्ने र त्यसको लाभ पनि आफै जाच्न सकिन्छ । तर सहि तरिकाले योग्य प्रशिक्षकबाट सिक्नु पर्दछ । हाम्रो शरीरमा हुने विभिन्न हर्मोनहरुलाई सक्रिय बनाउनको लागि योगको भूमिका महत्वपुर्ण रहेको छ ।

कोर्टिसोल हर्मोनको कारण तनाव उत्पन्न हुन्छ । यो तनाव हर्मोनलाई सन्तुलन गर्न योग को महत्वपूर्ण भूमिका रहन्छ । तर एक दुई पटक योग गर्दैमा राहत हुने होइन । निरन्तर अभ्यास अर्थात दैनिक कम्तिमा आधादेखि एक घन्टासम्म योगाभ्यासको लागि छुट्याउनु पर्दछ ।मानसिक स्वास्थ्यको लागि खासगरी तनाव व्यवस्थापनमा प्रभावकारी केहि आशनहरु महत्वपूर्ण मानिएका छन् ।

बालाशनः यसले हाम्रो सम्पूर्ण शरीरलाई आराम दिन्छ र थकानलाई हटाउँछ । दिमागलाई शान्त गराउछ । यो एक देखि दुई मिनेटसम्म गर्नु पर्दछ ।

सावधानी : गर्वावास्था,झाडा पखाला र घुडा दुखेको बेलामा यो आशन गर्नु हुदैन।

हलाशन : यो आशन तनाब ब्याब्स्थापन गर्नमा महत्वपूर्ण आसन हो । मष्तिस्क शान्त राख्नुका साथै पेटका अंगहरु स्वस्थ राख्दछ । थाइराइडलाई पनि संतुलन गर्दछ ।

सावधानी : कम्मरको दुखाई, टाउको दुखेको बेलामा यो योगासन गर्नु हुदैन ।

सर्वांगाशन : यो तनाव कम गर्नको लागी उत्तम योग हो । यो एकदेखि दुई मिनटसम्म गर्न सकिन्छ । यसले रक्तप्रवाहलाई बढाई तनाव कम गराउँछ । हृदयलाई मजबूत गराउँछ । यसको प्रभाव सम्पूर्ण अंगमा हुने भएकोले नै सर्वांगाशन भनिएको हो ।

सावधानी : टाउको दुखेको बेला, उच्चरक्तचाप र महिनावारी भएको बेला गर्नुहुदैन ।

शवाशनः यो समपूर्ण शरीरलाई आनन्द दिने आशन हो । शवाशनमा गएर यो भन्दा अघिल्लो अंक को योग निद्रा कमेन्ट्रिमा जाँदा निकै राहत मिल्छ । अर्थात मानसिक स्वास्थ्य व्यवस्थापनको लागि महत्वपूर्ण रहेको छ ।