Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


डेंगु संक्रमण दर घटाउन ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी

डेंगु संक्रमण दरलाई आगामी पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने लक्ष्य

39
Shares

काठमाडाैं । सरकारले डेंगु संक्रमण दरलाई आगामी पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने तयारी थालेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगु रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा पाँच वर्षभित्र संघीय, प्रदेश र पालिका सरकारका सबै निकाय क्षेत्रलाई डेंगु नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने जनाएकाे हाे । योजना अन्तर्गत डेंगुका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जानकारी गराएकाे छ।

लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्ने भएकाे हाे । योजना अन्तर्गत सरसफाइ बढाएर लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्ने र त्यसका लागि हरेक हप्ता विशेष सरसफाइ गर्ने गरी ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने योजना पनि सरकारको छ ।

त्यसैगरी, विभिन्न जोखिमपूर्ण क्षेत्रमा शून्य ‘सहिष्णुता क्षेत्र’ घोषणा गर्ने र पार्कलगायत क्षेत्रमा पानीको फोहोरा, पोखरी आदि डेंगुवाहक लामखुट्टे हुर्किने खतरा भएका ठाउँमा सरसफाइलाई कडाइ साथ लागू गर्ने तथा आम उपभोक्तामा ट्यांकीमा पानी भण्डारण गर्नुको साटो पाइपको पानी उपभोग गर्ने प्रवृत्ति बढाउन विशेष व्यवस्था गर्ने नीति पनि सरकारले लिने जनाएकाे हाे ।

त्यसैगरी, जलाशयहरूमा लार्भा खाने माछाको संख्या बढाउने र अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मका गतिविधि गर्ने सरकारको योजना रहेकाे छ ।