Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


विश्व खाद्य सुरक्षा दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै

खाद्यजन्य रोगका कारण वार्षिक ४ लाख २० हजार जनाको मृत्यु, ६० करोड मानिस बिरामी

0
Shares

काठमाडौं । विश्व खाद्य सुरक्षा दिवस आइतबार नेपालसहित विश्वभर विविध कार्यक्रम गरेर मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघीय महासभाले सन् २०१८ मा एक प्रस्ताव पारित गर्दै जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुरुप सन् २०१९ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । दिवसको प्रवद्र्धन तथा समन्वय विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन् ।

यसै सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वकाे बारेमा जनचेतना अभिवृद्धि गर्न आइतबार विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । दूषित खाद्यवस्तुका कारण विश्वभर प्रत्येक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको जनाउकाे हाे।

पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव जीवन, स्वास्थ्य र समग्र कल्याणका लागि अपरिहार्य मानिन्छ । दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन् । यस्ता जोखिमहरू प्रायः नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ ।

‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशका साथ मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकासबीचको अन्तर सम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।