कार्तिकबाट बागमती नदीमा कलकल सफा पानी बग्ने « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


कार्तिकबाट बागमती नदीमा कलकल सफा पानी बग्ने


8.333k
Shares

काठमाडौं । बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कार्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ ।

काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि बागमती नदीमा पठाउने तयारी भइरहेको छ । समुन्द्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाईमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ ।

साथै यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो । उपत्यकाको उत्तरपश्चिम चुचुरो मुलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ । सन् २०१५ देखि ड्यामको काम शुरु गरिएको थियो । यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षा याममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिनेछ ।

यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो । निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले बागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ । ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले बागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ । आयोजनाका प्रमुख इन्जिनियर निश्चल छत्कुलीले काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थलाई मध्येनजर गरेर धाप निर्माण गरेको बताउनु भयो ।

उहाँले बागमतीमा पानीको वहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा धापहरुको निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्यले धाप निर्माण गरेको बताउनु भयो । उहाँले हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । धापबाट बागमतीमा पानी पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४५० लिटरजति सफा पानी मिसाउनुपर्ने जायिकाको अध्ययनले देखाएको बताउनु भयो । एशियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान शुरु भएको बताउनु भयो । उहाँले मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण भइ पानी जम्मा गर्न शुरु गरिएको बताउनु भयो । शुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भने पनि अहिले त्यो भन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको बताउनु भयो ।

उहाँले धाप क्षेत्र पर्यटन प्रवद्र्धनको लागि पनि मुख्य स्थल बन्ने अध्ययनले देखाएको बताउनुुभयो । जसकरण पनि पर्यटन गुरुयोजना बनाएर नै काम अघि बढाउने तयारी भइरहेको उहाँको भनाइ छ । भ्याट बाहेक ४५ करोड रुपैयाँ र भ्याटसहित जोड्दा ५१ करोड रुपैयाँ बढी रकममा धाप निर्माण शुरु गरिएको बताउनु भयो । उहाँले अक्टोबर १५ पछि वागमतीमा धापको पानी प्रवाह गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

८ महिना ४० लिटर बगाउनसक्ने अनुमान गरेर धाप निर्माण गरेपनि नागमति धाप निर्माण नहुँदासम्म योजना अनुसारको पानी प्रवाह गर्न नसकिने बताउनुभयो । उहाँले बागमती ड्याम नबनुन्जेलसम्म ४० लिटर मात्रै पठाउनसक्ने र सिमित पानीले अनुभव गर्नसक्ने गरेर बागमतीमा पानी प्रवाह नहुने बताउनु भयो । धापबाट पठाएको पानी पशुपति आर्यघाटमा आम सर्वसाधारणहरुले पनि गर्ने गरेर पठाउनुपर्ने उहाँको भनाइ छ । पशुपति क्षेत्र विकास कोषसँग पनि समन्वय गरेर पशुपतिनाथ मन्दिर परिसरमा वर्षको २७ दिन, विशेष पर्वहरुमा ४ सय लिटर नै पानी पठाउने बारेमा सहमति भएको बताउनु भयो ।

प्रमुख इन्जिनियर छत्कुलीले धाप ड्याम नजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययन भइरहेको पनि बताउनु भयो । धाप ड्याममा जम्मा भएको पानी नागमतिको ड्याममा जम्मा भएपछि क्रमशः पानी छोड्दै जाँदा बागमतीमा मिसिन्छ । यो पानीबाट विद्युत निकाल्ने उद्देश्य रहेको छ भने बागमती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ ।

प्रश्तावित नागमति बाँध ९० मिटर अग्लो हुनेछ र यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ । यो बाँधबाट चार मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनःभरण (रिचार्ज) गर्न ठूलो सहयोग गर्नेछ । सुन्दरीजलबाट नागमति ड्याम पुग्न पाँच किलोमिटर मात्र छ । यी दुई बाँधको आकर्षणले गोकर्णेश्वर नगपालिकाको पर्यटन व्यवसाय फस्टाउने सहजै अनुमान गर्न सकिन्छ ।