
काठमाडौं, जेठ २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकममा पारदर्शिताको माग गरेको छ ।
आइतबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद रमेश रायमाझीले १० अर्ब रकम खर्च हुँदा समेत स्वास्थ्यकर्मीलाई माक्स, पीपीई लगायतका सामाग्रीहरुको अभाव भएको बताए । उनले आइसोलेसन सेन्टरको अवस्था पनि कमजोर हुनु र पीसीआर परीक्षण नगर्ने सरकारले कसरी १० अर्ब खर्च गर्यो भन्दै प्रश्न गरे ।
यस्तै सत्तारुढ दल नेकपाका सांसद खिमलाल भट्टराईले क्वारेन्टाइन व्यवस्थापनको जिम्मा सेनालाई दिनुपर्ने धारणा राखे ।
अहिलेको क्वारेन्टाइनको अवस्था पुलिसको हिरासत र जेल जस्तै भएकाले सेनालाई जिम्मा दिएर भएपनि समाधान गर्नुपर्ने उनको भनाई थियो ।
सांसद भट्टराईले कोरोना परीक्षणका लागि लागि पीसीआर किटको समस्या देखाएर भयावह स्थिति सृजना गर्न खोजेको टिप्पणी गरे ।
यस्तै सांसद शारदादेवी भट्टले कोरोना संक्रमण नियन्त्रण गर्न स्वास्थ्य सामाग्री, आइसोलेसन वार्ड केही पनि नभएको भन्दै केन्द्र सरकारले उपेक्षा गरेको आरोप भन्दै सरकारले ध्यानाकर्षण गराए ।
सांसद शेखर कुमार सिंहले भारतबाट दैनिक हजारौं संख्यामा भित्रिएका नेपालीको स्वास्थ्य परीक्षण व्यवस्थित हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस्