Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


थप दुईजनाको मृत्यु, कोरोना संक्रमितको संख्या ३२ सय ३५ पुग्यो, एकैदिन ३२३ जना थपिए


0
Shares

काठमाडौं, जेठ २४ । नेपालमा कोरोना संक्रमितमध्ये थप दुईजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिए ।

उनले डोल्पाका ५८ वर्षीय पुरुषको जेठ २१ गते ‘क्वारेन्टिन’मै मृत्यु भएपछि गरिएको ‘पीसीआर’ परीक्षणमा कोरोना ‘रिपोर्ट पोजिटिभ’ आएको बताए ।

त्यसैगरी, मिर्गौलाको समस्या भएकी महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकैक्रममा मृत्यु भएको हो ।

मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको डा. देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रवक्ता देवकोटाले नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार २३५ पुगेको जानकारी दिए ।

उनले पछिल्लो २४ घन्टामा ३२३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या तीन हजार २३५ पुगेको बताए ।

थप संक्रमित हुनेमा मोरङका छ, सुनसरीका पाँच, सप्तरीका आठ, नवलपरासीका तीन, बाँकेका १२, बर्दियाका २८, कास्कीका तीन, स्याङ्जाका १०, बागलुङका एक, बझाङका छ, कञ्चनपुरका दुई, अछामका एक, कैलालीका दुई, डडेल्धुराका एक, दैलेखका ४७, डोल्पाका एकजना छन् ।

त्यसैगरी, सुर्खेतका १०, जाजरकोटका चार, सल्यानका ३८, अर्घाखाँचीका एक, नवलपरासीका दुई, रुपन्देहीका तीन, भक्तपुरका एक, धनुषाका आठ, कपिलवस्तुका ३९, काठमाडौंका चार, महोत्तरीका ३५, रौटहटका छ र सर्लाहीका थप २७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाकाअनुसार हाल देशभर ‘क्वारेन्टिन’मा रहनेको संख्या एक लाख ६८ हजार ३१ रहेको छ । त्यसैगरी, ‘आइसोलेसन’मा रहनेको संख्या दुई हजार ८५७ रहेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा उपचारपछि निको भएर ३२ जना ‘डिस्चार्ज’ भएसँगै डिस्चार्ज हुनेको संख्या ३६५ पुगेको छ ।

भिडियो हेर्नोस्