Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध : सभामुख सापकोटा


234
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नु भएको छ ।

उहाँहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान भेटवार्ता भएको हो । भेटमा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताउनु भयो । उहाँले संयुक्त राष्ट्रसंघको वडापत्र तथा पञ्चशीलको सिद्धान्त अनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी सभामुख सापकोटाले राजदूत यान्छीसँग हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोरोना महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गर्नु भएको थियो ।

उहाँहरुबीच दुई देशबीचका व्यापारिक नाका सुचारु गराउने सम्बन्धमा पनि छलफल भएको थियो ।भेटमा राजदूत यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको उच्च प्रशंसा गर्नु भएको थियो । साथै, उहाँले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैब दृढ समर्थन गर्दै आएको बताउनु भयो । राजदूत यान्छीले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भएको सभामुख सापकोटाको नीजि सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।