काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्ने भएको छ।
सिंहदरबारमा प्रतिनिधि सभाको बैठक बुधबार दिउँसाे १ बजे बस्ने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले विधेयक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। उहाँले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे हाे।

त्यसैगरी राष्ट्रिय सभाको बैठक पनि बुधबार दिउँसाे सवाँ १ बजे बस्ने तय भएको छ। बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको हाे। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेकाे छ। उहाँले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्नुहुने भएकाे हाे।
राष्ट्रियसभाकै बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे छ। उहाँले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे हाे।










प्रतिक्रिया दिनुहोस्