Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


अमेरिकाद्वारा इरानविरूद्धको युद्धमा ३८ अर्ब डलर बढी खर्च

युद्धका क्रममा ५० बढी विमान, हेलिकोप्टर र ड्रोन नष्ट

871
Shares

एजेन्सी। अमेरिकी रक्षा मन्त्रालयले इरानविरुद्धको युद्धमा गत अगस्ट १ तारिखसम्म ३८ अर्ब डलर भन्दा बढी खर्च गरिसकेको छ ।

मन्त्रालयले युद्ध जारी रहेकाले यो खर्च आगामी दिनमा थप बढ्ने जनाएकाे हाे। युद्धको अवस्था र तीव्रताका आधारमा अमेरिकाले प्रतिमहिना तीन अर्ब डलर वा त्यसभन्दा बढी खर्च गर्न सक्ने आकलन गैरदलीय संस्था कंग्रेसनल (संसदीय) बजेट अफिस (सीबीओ) ले मंगलबार सार्वजनिक गरेको छ। सीबीओले यो युद्धको प्रभाव सन् २०२७ को पहिलो त्रैमासिकसम्म महँगीमा देखिन सक्ने जनाएकाे हाे ।

युद्धका कारण महँगी यसअघिको अनुमान भन्दा करिब ० दशमलव ५ प्रतिशतले बढ्न सक्ने आकलन गरिएकाे छ । यसको मुख्य कारण तेल तथा प्राकृतिक ग्यासको आपूर्तिमा आएको कमी हो । इरानविरुद्धको युद्धका कारण हर्मुज जलमार्ग हुँदै हुने इन्धनको आवतजावत प्रभावित भएको छ । लाल सागरबाट हुने जहाज आवतजावतमा पनि अवरोध पुगेको हाे ।

इरानविरुद्ध गत फेब्रुअरी २८ देखि जुन ३० तारिखसम्म चलेको ‘अपरेसन एपिक फ्युरी’मा अमेरिकाले ठूलो सैन्य तथा आर्थिक क्षति व्यहोर्नुपरेको छ । पेन्टागनका महानिरीक्षकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार इरानी आक्रमण तथा युद्धसम्बन्धी दुर्घटनामा अमेरिकाका ५० भन्दा बढी विमान, हेलिकोप्टर र ड्रोन नष्ट वा क्षतिग्रस्त भएका हुन् ।

मन्त्रालयले जसमा ३० वटा एमक्यू–९ रिपर ड्रोन समेत रहेकाे जनाएकाे छ।