काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ । विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रनमै सीमित भयो ।
जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे । विशाल सुशलिङले ३० बलमा २ चौका र ३ छक्कासहित ४३ रन बनाए ।
त्यस्तै, जेम्स निसमले १५ बलमा ३ छक्काको मद्दतले २७ रन जोडे । मोइन अलीले १०, त्रितराज दासले ६ र अभिषेक तिवारीले अविजित ५ रन बनाए ।
जनकपुरको जित रोक्ने क्रममा विराटनगरका आन्द्रे रसेलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा ४५ रन खर्चिए । एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । उसका लागि इमरान शेखले ५६, आन्द्रे रसेलले अविजित ५२ र लोकेश बमले ५० रन जोडेका थिए ।
यससँगै विराटनगरले जनकपुरमाथि २ रनको रोमाञ्चक जित निकालेको छ ।









प्रतिक्रिया दिनुहोस्