म्याग्दीको बेगखोलाको पुल नबन्दा सास्ती « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


म्याग्दीको बेगखोलाको पुल नबन्दा सास्ती

'ज्यानकै माया मारेर खोला तर्नु पर्ने बाध्यता'

26
Shares

म्याग्दी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाको पुल नबन्दा सर्वसाधारणले वर्षेनी सास्ती ब्यहोर्नु परेको छ ।

उत्तरी म्याग्दी र हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एक मात्रै बेनी–जोमसोम सडकखण्डमा वर्षेनी बर्खे भेलमा सर्वसाधारण ज्यान हत्केलामा राखी यात्रा गर्न बाध्य छन् ।

हिउँदमा समेत बाढी आइराख्ने बेगखोलाले सवारीसाधन बगाउने र पैदलयात्रीलाई आवतजावतमा समेत कठिनाई हुने गरेको छ ।

बेगखोला सदरमुकाम बेनीदेखि १२ किलोमिटर उत्तरमा पर्छ  ।

विगत ६ बर्षयता बेगखोला वारपार गर्ने यात्रुको सास्ती बयान गरेर सकिदैन् । वि.सं. २०७३ भदौ १६ गते आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि यात्रा कठिन र जोखिमपूर्ण हुँदै आएको छ भने यात्राको क्रममा यात्रुले ज्यान समेत गुमाउनु परेको छ ।

लेकतिर भिषण वर्षा हुदाँ बेगखोलामा दैनिक ठूलो संख्यामा यात्रु अलपत्र पर्ने गरेको दृष्यले जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिलाई छुन सकेको छैन् । बाढीले पुल सहितको संरचना बगाएको ६ वर्ष बितिसक्दा समेत अस्थायी संरचनासमेत बन्न नसक्दा सास्ती भएको यात्रु सुरजन भट्टचनले बताउनुभयो ।

बेगखोला वारपार गर्नेले जिल्लाका सरोकारवाला निकायलाई ५ मिनेट भएपनि अवलोकन गर्न सुझाव समेत दिने गरेका छन् ।

बेगखोलाको बाढीले खोला तर्ने क्रममा केही ट्याक्सी र मोटरसाइकल बगाएर कालीगण्डकीमा मिसाएको धेरै उदाहरण भएपनि नेता र जनप्रतिनिधिले सुने नसुने र देखे नदेखे जस्तै गरेको उत्तरी म्याग्दीका बासिन्दाको भनाई छ ।

बाढी आएको अवस्थामा मोटरसाईकल र यात्रुले समेत स्काभेटरलाई पैसा तिरेर ‘बकेट’मा बसेर खोला वारपार गर्ने गरेका छन् । बेगखोलामा सडक विभाग पुल महाशाखाले ‘डिजाइन एन्ड विल्ड’ मोडेलमा पुल बनाउन वीक्वीई हिमालयन जेभिलाई भ्याटसहित ८ करोड ५० लाखमा ठेक्का दिएको छ  ।