९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


वीपी राजमार्गको आकस्मिक सूचना प्रणाली नै बेवारिसे


624
Shares

सिन्धुली । संघीय राजधानी काठमाडौंलाई पूर्वी तराईका जिल्लाहरूलाई छोटो दूरीमै जोड्ने धुलिखेला–सिन्धुली बर्दिबास १ सय ६० किलोमिटर दुरीको वीपी राजमार्गमा स्थापना गरिएको आकस्मिक सूचना प्रणाली निष्प्रभावी भएकाे छ ।

जसका कारण सोही राजमार्गमा संचालन हुने सबै खाले यातायातका साधनहरूले सुविधा पाउन सकेका छैनन् । विगत सात वर्षदेखि अलपत्र आकस्मिक सूचना प्रणाली (ईआइएस) बोर्डमा धुलिखेल–सिन्धुली–बर्दिबास राजमार्ग आयोजनाले विपद र सडक अवरुद्ध सम्बन्धी आवश्यक सूचना अद्यावधिक नगर्दा उक्त प्रणाली निष्कामी भएका छन् ।

सोही राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकको तत्कालिन अवस्थाबारे जानकारी दिने उद्देश्यले महोत्तरी जिल्लाको बर्दिबास, सिन्धुली जिल्लाको सिन्धुलीमाडी र काभ्रेपलान्चोक जिल्लाको धुलिखेल लगाएत विभिन्न ५ स्थानमा डिजिटल सूचना बोर्ड बेवारिसे बनेका छन् ।

राजमार्गका डिस्पे सूचना बोर्डमा मौसम अनुसार राजमार्गको अवस्था बारे सूचना अद्यावधिक नगर्दा सडक जाम हुने पहिरोहरूमा यातायातका साधनहरू फस्ने तथा प्राकृतिक प्रकोप र दूर्घटनाका विषयमा जानकारी हुन नसकेको यातायातका चालकहरू बताउँछन् ।

सडक विभागले सडक निर्माणकर्ता जाइकाले सडकसँगै सूचना प्राणालीको विकास गरेको थियो । तर, केही समय पश्चात उक्त प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकेपछि राजमार्गको अवस्था तथा आकस्मिक घटनामा तत्काल उद्धार गर्न सकिने संयन्त्र निर्माण गर्न समस्या भएको छ ।

वीपी राजमार्ग निर्माण सम्पन्न भएसँगै राजमार्गमा वर्षा, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाकाे विषयमा तत्काल मोबाइल, वेभसाइटमा जानकारी आउने व्यवस्था मिलाइने योजना बनाइएको थियो । तर, राजमार्गको वेभसाइट तथा कोटेश्वर, धुलिखेल, खुर्कोट, सिन्धुली र बर्दिबासमा रहने सूचना बोर्ड अहिले संचालन भएकाे छैन् ।