काठमाडौं । गत फेब्रुअरीदेखि युक्रेन विश्व सञ्चार डबलीको केन्द्रमा छ। हुनत सन् २०१९ मा जब त्यहाँ हाँस्य अभिनेता भोलोदिमेर जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भए त्यतिबेलैदेखि यो देश कुनै न कुनै ढंगले चर्चामा छ। राष्ट्रपतिमा निर्वाचित हुनुअघि जेलेन्स्की राजनीतिक व्यंग्यको टेलिभिजन शृंखला ‘स्लुहा नारोदु’ (नेपाली अनुवाद जनतालाई सुनौँ) का मुख्य पात्र भासिली गोलोबोरोद्कोको रूपमा अभिनय गर्थे। सन् २०१५ देखि चल्न थालेको त्यस टेलिशृंखलालाई ‘जनताका सेवक’ भनेर पनि अनुवाद गरियो। टेलिशृंखलाको कथामा गोलोबोरोद्को एक माध्यमिक विद्यालयमा इतिहासका शिक्षक हुन्छन् जो नसोचे जस्तो देशको राष्ट्रपति बन्न पुग्छन्। सन् २०१९ मा युक्रेनको निर्वाचनमा जेलेन्स्की त्यही टेलिशृंखलाको नाम ‘जनताका सेवक’ पार्टीबाट साँच्चिकै राष्ट्रपति बन्न पुग्छन्। यो संयोग हो वा योजनाबद्ध कदम, जसरी अनुमान लगाए पनि भयो।
युक्रेनको राजनीतिक भूगोल गजबको छ। पूर्वी युरोपमा सातवटा देशसित यसको सिमाना जोडिएको छ जसमा रुस मुख्य हो। सोभियत संघको युगमा यी दुई छिमेकी हथौडा–हँसिया अंकित एउटै झण्डामुनि थिए। झण्डै २ दशकसम्म सोभियत संघको नेतृत्व गरेका लियोनिद ब्रेजनेभ ९१९०६–१९८२० युक्रेनकै थिए, उनका अग्रज निकिता ख्रुश्चेव ९१८९४–१९७१० पनि युक्रेनकै सिमाना नजिकका रुसी थिए। युक्रेनको दक्षिणमा कृष्णसागर छ । जुन इस्तानबुलछेउ बोस्फोरस जलडमरुको मसिनो घाँटी हुँदै भूमध्य महासागरसित मिसिन पुग्छ। कृष्णसागरको नडुब्ने पानीमा तैरिन अनुमानित बर्सेनि १५ करोड पर्यटक पुग्छन्।
करिब ६ हजार वर्ग किमि क्षेत्रफल भएको युक्रेन युरोपमा रुसपछिको दोस्रो ठूलो देश पनि हो। त्यहाँको जनसंख्या ४ करोड छ। अनुमान लगाउन गाह्रो छैन, युक्रेन सामरिकरूपले कति महत्वपूर्ण देश रहेछ। कुनैबेलाका सहकर्मी कमरेडहरू रुस र युक्रेन अहिले युद्ध मैदानमा आमने–सामनेका बैरी भएका छन्। युद्धमा जुन प्रकारले विज्ञान र प्रविधिको दुरूपयोग भैरहेको छ, त्यो अत्यन्तै गंभीर र निन्दनीय छ। युद्धका कारण विश्वभरि नै परेको असर खासगरी खद्यान्न, तेल, ग्यास जस्ता दिनानुदिनका आवश्यकीय वस्तुहरूको आपूर्ति समस्या झन् ठूलो चिन्ताको विषय भएको छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्