काठमाडाैं । कास्की प्रहरीले सडकमा ध्वनी प्रदुषण फैलाउने र स्वरूप परिवर्तन गरी आतङ्क सिर्जना गर्ने मोटरसाइकलहरू लक्षित गरी सञ्चालन गरेको ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म ६७५ वटा सवारीसाधनलाई कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार यस अभियानका क्रममा यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीमार्फत कुल १ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले रातको समयमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने, साइलेन्सर फेरेर चर्को आवाज निकाल्ने र समाजमा भय सिर्जना गर्ने गतिविधि बढेपछि यो अपरेसन शुरु गरिएको जानकारी दिनुभयो । विशेषगरी पर्यटकीय शहर पोखरामा यस्ता गतिविधिले सुरक्षा चुनौती थपेको र जनगुनासो व्यापक आएकाले प्रहरीले कडाइ गरेको हो ।
प्रहरीकाअनुसार गत भदौ २४ गते पोखरामा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा निजी तथा सरकारी सम्पती तोडफोड, आगजनी र लुटपाटमा स्वरूप परिवर्तन गरिएका बुलेट, क्रस फायर, पल्सर र भीआरजस्ता मोटरसाइकलहरूको व्यापक प्रयोग भएको पाइएको थियो । आन्दोलनका क्रममा व्यवसायीका घर जलाउने, लुटपाट गर्ने र प्रहरीको हतियार खोस्नेसम्मका उच्छृङ्खल गतिविधिमा यस्ता सवारी प्रयोग भएपछि प्रहरीले सूक्ष्म निगरानी बढाएको थियो ।
सवारी चेकजाँच र नियन्त्रणका क्रममा प्रहरीमाथि दुव्र्यवहार तथा अभद्र व्यवहार गर्ने २९ जना चालकलाई समेत नियन्त्रणमा लिई मुद्दा चलाइएको डिएसपी बस्नेतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सडकमा मोटरसाइकल पड्काउँदै हिँड्ने र नागरिकलाई त्रसित बनाउने कार्यलाई हामीले शून्य सहनशीलताका साथ नियन्त्रण गरिरहेका छौँ ।’
प्रहरीले विशेषगरी कलेज पढ्ने युवाहरू यस्ता गतिविधिमा बढी संलग्न रहेको पाइएकाले आफ्ना छोराछोरीलाई सम्झाउन र उनीहरूको क्रियाकलापमा निगरानी राख्न अभिभावकहरूलाई आग्रह गरेको छ ।
साथै, समाजमा त्यस्ता उश्रृङ्खल गतिविधि गर्ने सवारीसाधन देखिएमा वा कसैले दुःख दिएमा प्रहरीको हटलाइन नम्बर १०० मा तत्काल जानकारी गराउन समेत प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ ।










प्रतिक्रिया दिनुहोस्