
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजाको जीवाणु पुष्टि भएको छ। काठमाडौंको बागबजारमा बस्दै आएका २५ वर्षीया दिदी र १८ वर्षीया बहिनीमा हैजा पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. किजन महर्जनले बताए। दिदीको स्वास्थ्यमा बुधबार समस्या देखिएको र बिहीबार बहिनी पनि बिरामी परेपछि नजिकको अस्पताल पुगेका दुवैमा हैजा पुष्टि भएपछि उनीहरूलाई शुक्रराज अस्पतालमा रेफर गरिएको थियो। शुक्रराज अस्पतालले पनि उनीहरूको दिसा परीक्षण गरेपछि हैजाको जीवाणु भेटिएको डा. महर्जनले बताए।
उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। एकजनाको मिर्गौलामा समेत समस्या देखिएको डा.महर्जनले बताए। चिकित्सकका अनुसार दूषित पानीबाट हैजाको जीवाणु सरेको हुन सक्छ। चिकित्सका अनुसार हैजाको जीवाणु दिसामा पाइने भएकाले दिसा मिसिएको खानेकुरा र पानीबाट हैजा संक्रमण हुन्छ। काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा भइहेकाले धारामा आउने पानी दूषित हुन सक्ने र जारको पानी पनि प्रदूषित हुन सक्ने चिकित्सकले औंल्याएका छन्।
हैजाका दुई बिरामीबाहेक तीन दिनको अवधिमा ३७ जना झाडापखालाका बिरामी शुक्रराज अस्पताल पुगेका छन्। बुधबारदेखि शुक्रबार दिउँसोसम्म झाडापखालका ३७ जना बिरामी भर्ना भएको जानकारी अस्पतालका सूचना अधिकृत नवराज गौतमले दिए। सामान्य अवस्थामा बिरामीले नजिकको औषधि पसलबाट औषधि किनेर खाने र निको नभए मात्र अस्पताल पुग्ने प्रवृत्तिका कारण समुदायमा थप बिरामी पर्न सक्ने अस्पतालका अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुनले बताए। वर्षाको सिजन भएकाले झाडापखालको जोखिमबाट बच्न सावधानी अपनाउनुपर्ने उनले बताए।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्