बलात्कार तथा यौन हिंसाको उजुरी गर्ने हदम्याद हटाउन एम्नेस्टीको आग्रह « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


बलात्कार तथा यौन हिंसाको उजुरी गर्ने हदम्याद हटाउन एम्नेस्टीको आग्रह


156
Shares

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले बलात्कार तथा यौन हिंसा पीडितलाई छिटो न्याय र हदम्याद तत्काल हटाउन आग्रह गरेको छ ।

बलात्कारसम्बन्धी कानूनलाई सुधार गर्न तथा यौन हिंसाका पीडितहरुलाई छोटो न्याय प्रदान गर्ने व्यवस्थाको माग गर्दै बिहीबार जारी रहेको विरोध प्रदर्शनप्रति ऐक्यवद्धता जनाउँदै एम्नेस्टीले विद्यमान हदम्यादको व्यवस्थालाई तत्काल हटाउनु पर्ने बताएको हो ।

आठ वर्षअघि आफू १६ वर्षको हुँदा बलात्कार गरिएको आरोपसहित ४ जेठमा एकजना पीडितले आफूमाथि भएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि यो व्यवस्था हटाउँदै बलात्कारको उजुरी जहिले गरे पनि हुने व्यवस्था गर्न सरकारमाथि दबाव परेको छ ।

‘बलात्कारसम्बन्धी उजुरीका लागि विद्यमान पुरातन र हानिकारक एक वर्षे हदम्यादको कारणले गर्दा साहसी पीडितलाई बारम्बार न्यायबाट वञ्चित गरिएको हामीले देखेका छौँ,’ एम्नेस्टी इन्टरनेसनलकी दक्षिण एसिया क्षेत्रीय निर्देशक यामिनी मिश्रले विज्ञप्तिमा भनेकी छिन्, ‘विद्यमान प्रावधान निकै प्रतिबन्धात्मक, अन्यायपूर्ण रहनुका साथै यसले पीडित कस्तो अवस्थामा रहेका हुन्छन् भन्ने कुरालाई पनि बेवास्ता गरेको छ । अहिलेको स्वरूपको कानुनी प्रावधानले बलात्कारका धेरै पीडकहरूलाई अपराधबाट उम्कन सहज पार्दछ ।’

नेपालको मुलुकी अपराध संहिता, २०७४ मा अपराध भएको मितिबाट एक वर्षभित्र बलात्कारको उजुरी दर्ता गरिसक्नुपर्ने व्यवस्था छ ।