डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने सरकारको वाचा « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने सरकारको वाचा

जनतालाई चुनावमा आकर्षित गर्ने रणनीति मात्र भएको स्थानीयको प्रतिक्रिया

117
Shares

डडेल्धुरा । सरकारले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने सार्वजनिक गरे पनि डडेल्धुराबासी भने विश्वस्त छैनन् । डडेल्धुरा अस्पतालको हालको व्यवस्थालाई नै कार्यान्वयन गर्न नसक्ने सरकारले मेडिकल कलेज स्थापना गर्ने भन्नु जनतालाई चुनावमा आकर्षित गर्ने रणनीति मात्र भएको स्थानीयले बताएका छन् ।

राष्ट्रपति विद्या भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज संचालन गर्ने उल्लेख गरिनु सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण र असम्भव देखिएको डडेल्धुरा अस्पतालका पूर्व अध्यक्ष लक्ष्मण सिंहले बताउनु भयो ।

डडेल्धुरा अस्पतालको हालको व्यवस्थालाई नै कार्यान्वयन गर्न नसक्ने सरकारले मेडिकल कलेज विषयलाई नीति तथा कार्यक्रममा समेटनु जनतालाई चुनावमा आकर्षित गर्ने रणनीति भएको स्थानीय धर्मराज भट्टको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुरामा प्रधानमन्त्रीले भर्खरै सम्पन्न स्थानीय निर्वाचनको चुनावी आमसभामा प्रतिबद्धता गरेकाले जनतालाई विश्वास दिलाउन मेडिकल कलेज स्थापना गर्ने कार्यक्रमको रुपमा प्रस्तुत भएको समाजसेवी प्रकाश बहादुर साउँदको भनाई छ ।

पाँच पटक प्रधानमन्त्री र पार्टीको शिर्ष नेतृत्व सम्हाल्दा सिन्को नभाँचेका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन २०७९ मा चुनाव जित्न हम्मेहम्मे भएपछि जनमत आकर्षित गर्न सुदूरपश्चिम प्रदेश राजधानी डडेलधुरामा सार्ने, डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने, पश्चिम सेती बनाउने, जिल्ला सदरमुकाम विकासका लागि बजेट विनियोजन गर्नेजस्ता महत्वाकांक्षी प्रतिवद्धताहरु जनतामा राखेर गएपछि स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्रीको पार्टीलाई बहुमत प्राप्त भएको हो ।