Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


दशैँको टीकाको दिनदेखि २२ वर्षीय युवक बेपत्ता, खोजी तीव्र पार्न वाम्रासको माग


0
Shares

शुभकला राई, ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका एक २२ वर्षीय युवक दशैँको टीकाको दिनदेखि बेपत्ता भएका छन्।

मानेभञ्ज्याङ गाउँपालिका–३ सोदुखेतका प्रख्यातहरि क्याम्पा राई कात्तिक ४ गते साँझदेखि सम्पर्कविहीन भएका हुन्। ओखलढुंगा र खोटाङको सीमास्थित जयरामघाटबाट बेपत्ता भएका उनको परिवार, आफन्त र स्थानीयवासीले खोजी गरे पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन।

युवक बेपत्ता भएको घटनाबारे वाम्बुले राई समाज, नेपाल (वाम्रास) ले गम्भीर चासो व्यक्त गर्दै खोजी तथा अनुसन्धानलाई तीव्रता दिन स्थानीय प्रशासन र प्रहरीको ध्यानाकर्षण गराएको छ ।

घटनाबारे मानेभञ्ज्याङ गाउँपालिका, जिल्ला प्रहरी कार्यालय ओखलढुंगा तथा हर्कपुरस्थित प्रहरी प्रभागमा जाहेरी दिएर खोजीका लागि अनुरोध गरिए पनि हालसम्म ठोस प्रगति नभएको भन्दै संस्थाले चिन्ता व्यक्त गरेको छ।

वाम्रासले स्थानीय प्रशासन, प्रहरी र सशस्त्र प्रहरी बललाई प्राविधिक जनशक्ति तथा तालिमप्राप्त कुकुर परिचालन गरी खोजी कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ। आवश्यक परे दूधकोशी नदी किनार तथा पानीमुनिसमेत खोजी गर्न संस्थाले ध्यानाकर्षण गराएको छ।

त्यस्तै, घटनाबारे सामाजिक सञ्जालमा अपुष्ट टिप्पणी तथा आरोप–प्रत्यारोप नगर्न र अनुसन्धानको निष्कर्ष नआएसम्म संयमित रहन वाम्रासले सबैलाई अपिल गरेको छ।

Skip This