Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा आठ जना घाइते


0
Shares

काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आगलागी हुँदा आठ जना कामदार घाइते भएका छन्। आइतबार बिहान उद्योगभित्र फलाम पगाल्न प्रयोग गरिने तीनवटा भट्टीमा विद्युत् सर्ट भएपछि आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीमा परी घाइते हुनेमध्ये पाँच जना बाँकेका र तीन जना भारतीय नागरिक छन्। घाइते सबैलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल लगिएको थियो। उनीहरूमध्ये जानकी गाउँपालिका–५ का शिवप्रसाद चमार र रामदिन हरिजनको अवस्था थप उपचार आवश्यक देखिएपछि भारतको लखनऊ पठाइएको प्रहरीले जानकारी दिएको छ।

घाइते अन्यमा सोही स्थानका २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव छन्। यस्तै, भारतको बहराइच जिल्लाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोदकुमार निषाद पनि घाइते भएका छन्।

आगलागी नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एउटा दमकल परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा निभाइएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

Skip This