Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


इजिप्टको कायरो नजिकै लरी र माइक्रोबस ठोक्किँदा १० जनाको मृत्यु, २४ घाइते


0
Shares

काठमाडौं । इजिप्टको राजधानी कायरोको दक्षिणी क्षेत्रस्थित गिजा प्रान्तमा शनिवार भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

तिब्र गतिको लरी र यात्रुवाहक माइक्रोबस आपसमा जुध्दा उक्त हताहती भएको त्यहाँको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार गिजा प्रान्तको मुख्य राजमार्गमा लरी र माइक्रोबस ठोक्किएलगत्तै आपत्कालीन उद्धार कार्य शुरु गरिएको थियो ।

दुर्घटनाको सूचना पाउनासाथ इजिप्सियन एम्बुलेन्स प्राधिकरणले तत्काल २० वटा एम्बुलेन्स घटनास्थलमा परिचालन गरी घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पुर्‍याएको थियो । मन्त्रालयले दुर्घटनास्थल वरपरका सबै अस्पतालहरूलाई उच्च शतर्कता (हाई अलर्ट) मा रहन र घाइतेहरूको प्रभावकारी उपचारका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य स्रोतसाधन परिचालन गर्न निर्देशन दिएको छ ।

उपचाररत २४ जना घाइतेमध्ये १० जनाको अवस्था अत्यन्त नाजुक तथा अस्थिर रहेको बताइएको छ भने बाँकी १४ जना सामान्यदेखि मध्यम घाइते भएका छन् । उद्धार र उपचार कार्य निरन्तर जारी रहेकाले मृतक र घाइतेको विवरण प्रारम्भिक मात्र भएको अधिकारीहरूले जनाएका छन् ।

घटनाको यकिन कारणबारे अनुसन्धान जारी रहे पनि बाक्लो हुस्सुका बीच तिब्र गतिमा सवारी हाँकिएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । इजिप्टमा तिब्र गति, ट्राफिक नियमको उल्लङ्घन तथा कमजोर सडक पूर्वाधारका कारण हरेक वर्ष हजारौँ नागरिकले सडक दुर्घटनामा ज्यान गुमाउने गर्छन् ।

पछिल्ला वर्षहरूमा इजिप्ट सरकारले दुर्घटना न्युनिकरण गर्न र ट्राफिक प्रणाली सुरक्षित बनाउन राष्ट्रिय सडक सञ्जाल विस्तार तथा स्तरोन्नतिलाई तिब्र बनाएको छ ।

Skip This