१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


इटालीयन लिग फुटबल ‘सिरी–ए’ को उपाधि एसी मिलानलाई


130
Shares

काठमाडौं । यस वर्षको इटालीयन लिग फुटबल ‘सिरी–ए’ को उपाधि एसी मिलानले जितेको छ ।

सिजनको अन्तिम खेलमा सासुओलोलाई ३–० ले हराउँदै मिलानले ११ वर्षमा पहिलो पटक ‘सिरी–ए’ जितेको हो । आइतबार राती निर्णायक खेलमा मिलानलाई विजयी गराउन ओलिभर जिरुले दुई गोल गर्दा फ्रयाङ्क किसीले एक गोल गरेका थिए । मिलानको यो जितसँगै उसकै शहरको प्रतिद्धन्दी इन्टर मिलानको उपाधि जित्ने सपना चकनाचुर भएकाे छ। मिलानले यो खेल गुमाएको अवस्थामा इन्टरले लिग उपाधि जित्ने थियो ।

आइतबार रातीको खेलमा उसले साम्पडोरियामाथि ३–० को जित निकालेकाे छ। सिजनमा सबै खेलको समाप्तीपछि एसी मिलानले ८६ अंक जोड्यो भने इन्टर मिलान ८४ अंकमा समेटिएकाे हाे। तेस्रो स्थानको नापोली र चौथो स्थानको युभेन्टसले पनि अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन् ।

यो वर्ष काग्लियारी, जेनोवा र भेनेजिया रेलीगेशनमा परेका छन् ।