२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


विद्यार्थीलाई ब्लेडले हात चिरेर यातना दिने शिक्षिका स्कुलबाट निष्कासित, प्रहरीले पक्रियो


0
Shares

काठमाडौं । भनिन्छ, स्कुल बच्चाका लागि शिक्षा आर्जन गर्ने घर हो, शिक्षिका माया गरेर ज्ञान दिने आमा हुन्, त्यसैले त शिक्षिकालाई गुरुआमा भन्ने गरिन्छ ।

यो भनाइलाई चुनौती दिँदै स्कुलका विद्यार्थीलाई चरम यातना दिँदै अमानवीय व्यवहार गर्ने एक शिक्षिका अन्ततः कारवाहीमा परेकी छिन् ।

कक्षा ६ र ७ का ३४ जना विद्यार्थीको पाखुरामा धारिलो ब्लेड चिराचिरा पर्ने गरी काट्न लगाएर विद्यार्थीलाई यातना दिने जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यललाई विद्यालयले निष्कासन गरेको छ भने प्रहरीले उनलाई पक्राउ गरेको छ ।

विद्यार्थीलाई यातना दिएर हात काट्न लगाउने शिक्षिका कर्माचार्यलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले शनिबार पक्राउ गरेको छ ।

प्रहरी वृत्त बानेश्रका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घटनाको बारेमा जानकारी पाए लगत्तै पक्राउ गरेको जानकारी दिए ।

शिक्षिकालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान शुरु गरेको जानकारी दिए ।

जागृति एकेडेमीमा विगत १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका कर्माचार्यले अघिल्लो साता लिएको नियमित कक्षागत परीक्षामा राम्रो अङ्क ल्याउन नसकेको भन्दै यहीँ फागुन २२ गते बिहीबार विद्यार्थीलाई वेञ्चबाट उठाएर शारीरिक र मानसिक यातना दिएकी थिइन् ।

कक्षा ६ मा पढ्ने सविन तामाङले जहिले पनि गाली गर्ने, कुट्ने मिसले त्यस दिन त सिसाकलम ताछ्ने ब्लेडले हात काट्न लगाएको बताए ।

परीक्षा कै दिन राम्रो अङ्क नल्याउने विद्यार्थीको हात चिरिदिन्छु भनेर धम्की दिएको बताउँदै उनले टेलिफोनमा भने–“मिसदेखि सबै साथीहरु डराउँछन्, जाँच कै दिन नम्बर कम ल्याउनेको हात काटिदिन्छु भन्नु भएको थियो, त्यस दिनपछि कम नम्बर ल्याएको भन्दै सबैलाई गाली गर्नुभयो, अनि सबैलाई वेन्चमा उठाउनुभयो, पेन्सिल ताछ्ने ब्लेट झिकेर हात चिर तिमीहरुलाई त्यही हो सजाय भनेर भन्नुभयो, नमान्नेलाई गाली गर्दै आफै काटिदिन्छु भनेर तर्साएपछि डराएर हात काट्यौँ ।”

जडिबुटी बस्ने सविनले २० माक्र्समा पाँच माक्र्स मात्रै ल्याएपछि हात काट्न लगाएको बताउँदै त्यसरी हात काट्दा तिमीलाई अझ पुगेन भन्दै अझै कडा सजाय दिने भनेर तर्साएको बताए ।

कक्षागत परीक्षामा उतीर्ण हुन आठ माक्र्स ल्याउनपर्छ तर १५ माक्र्सभन्दा कम ल्याउनेलाई शिक्षिकाले यातना दिएकी थिइन् । रासस