
रोमन आचार्य, लक्ष्मणमान डंगोल र विनोद बजगाइँ (इमेज)
काठमाडौं, फागुन २३ । १४औं महाधिवेशनको कार्यतालिकासम्बन्धी किचलो साम्य भएको एक महिना बित्नासाथ नेपाली कांग्रेसभित्र फेरि बबन्डर मच्चिन थालेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले एकपक्षीयरुपमा विभाग संयोजक र आमन्त्रित केन्द्रीय सदस्यहरु तोकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाले पार्टीले सन्चालन गरेको कार्यक्रम नै बहिस्कार गर्न थालेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको पछिल्लो एकपक्षीय कदमलाई टक्कर दिन वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका नेता प्रकाशमान सिंहको निजी निवास चाक्सीबारीमा बैठक बस्यो । बैठकले देउवाका कदमविरुद्ध रणनीति तय गरेको बताइएको छ ।
यही रणनीतिलाई पछ्याउँदै पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको जिल्ला उपसभापतिहरुको भेला पौडेल पक्षले बहिस्कार गर्यो ।
चारवर्षे कार्यकाल सकिनुभन्दा दुई दिनअघि एकलौटी विभाग गठन र आफ्नो गुट बलियो हुनेगरी आमन्त्रित केन्द्रीय सदस्य मनोनयनपछि पौडेल पक्षले देउवाको जिद्दीपनलाई चुनौती दिने रणनीति बनाएको केन्द्रीय सदस्य हृयदराम थानी बताउँछन् ।
देउवा खेमा भने विभाग गठन गर्दा पार्टी सभापतिले नाम माग्दा नदिने अनि अहिले रडाको मच्चाउने पौडेल खेमाको रणनीति गलत भएको ठान्दछ ।
पार्टीमा बारम्बार किचलो मच्चाउनुको तुह नरहेको केन्द्रीय सदस्य शंकर भण्डारीको तर्क छ ।
पौडेल र कृष्णप्रसाद सिटौला खेमाको बहिस्कारबीच गएको पुसमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विधानमा तोकिएकोभन्दा बढी विभाग संख्या तय, महाधिवेशन कार्यतालिका, भातृसंगठनको अधिवेशनबारे निर्णय लिएपछि कांग्रेसमा लामो समय आन्तरिक द्वन्द्व चर्किएको थियो ।
पटक–पटकको वार्ता र संवादपछि साम्य भएको किचलो देउवाले गुटमैत्री निर्णय लिँदा कांग्रेस पुनः आन्तरिक द्वन्द्वमा फसेको छ ।
देउवानिकट नेता भण्डारी अर्को खेमाले झगडामात्र चर्काएको आरोप लगाउँछन् ।
पौडेल पक्षका नेता थामी भने पार्टी सभापति देउवाको दम्भले यो स्थिति आएको ठान्छन् ।
कुनैपनि राजनीतिक दलमा आन्तरिक छलफल, संवाद र मतभेद हुनु स्वाभाविक हो ।
तर, गुट मलिलो बनाउने र आफू बलियो बन्ने स्वार्थ मिसिँदा कांग्रेसको आन्तरिक द्वन्द्व सार्वजनिकरुपमै छताछुल्ल हुने गरेको छ ।
२०७७ साल फागुनमा १४औं महाधिवेशन तय भइसकेको सन्दर्भमा गुटगत लडाइँ झनै उत्कर्षमा पुग्ने देखिन्छ । त्यसलाई साम्य पार्ने दायित्व भने पार्टी सभापति देउवाकै हो ।
प्रतिक्रिया दिनुहोस्