
बिराज रोस्यारा (इमेज)
कैलाली, फागुन २२ । बलात्कारको आरोपमा पक्राउ परेका नेकपा सचेतकसमेत रहेका सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावललाई थप चार दिन प्रहरी हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला अदालत कैलालीले रावलमाथि अनुसन्धानका लागि बिहीबार चार दिन म्याद थप गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले रावलमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको जिल्ला अदालत कैलालीका स्रेस्तेदार राइभान कुन्जेडाले जानकारी दिए ।
उक्त मुद्दामा आरोप पुष्टि भए उनलाई पाँच वर्षसम्म कैद हुनसक्ने व्यवस्था रहेको स्रेस्तेदार कुन्जेडाले बताए ।
उक्त मुद्दामा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ ।
रावलविरुद्ध धनगढी उपमहानगरपालिका वडा नम्बर–४ की २५ वर्षीया विवाहित महिलाले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएकी थिइन् ।
प्रहरीले रावललाई बुधबार पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्