२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


अमेरिकी राष्ट्रपति उम्मेदवारीका लागि जो बाइडेनलाई मिल्यो ठूलो सफलता


0
Shares

एजेन्सी, फागुन २१ । अमेरिकी राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवारी पाउने प्रतिष्पर्धामा रहेका जो बाइडेनलाई महत्वपूर्ण सफलता मिलेको छ ।

यसै वर्षको नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीको आधिकारिक उम्मेदवार बन्ने होडमा रहेका नेता जो बाइडेनले ‘सुपर ट्युसडे’ का रुपमा परिचित प्राइमरीमा राम्रो प्रदर्शन गरेका हुन् ।

उम्मेदवार छान्न मंगलबार मतदान भएका १४ राज्य र एक प्रशासित क्षेत्रमध्ये ९ राज्यको नतिजा बाइडेनका पक्षमा आएको हो । प्रतिष्पर्धामा रहेका सिनेटर बर्नी सान्डर्सले भने तीन राज्यमा जितेका छन् । सिनेटर सान्डर्स गृह राज्य भर्मोन्ट, क्लोराडो र युटामा विजयी भएका हुन् ।

पूर्व उपराष्ट्रपतिसमेत रहेका बाइडेनले टेक्सास, नर्थ क्यारोलाइना, मासाचुसेट्स, मिनेसोटा, ओक्लोहामा, अर्कान्सास, टेनिसी, अलाबामा, र भर्जिनिया राज्यको नतिजा आफ्नो पक्षमा पारेका हुन् । प्रतिष्पर्धामा रहेकी मासाचुसेट्स सिनेटर एलिजाबेथ वारेन भने आफ्नै गृह राज्यमा पनि तेस्रो स्थानमा सीमित रहिन् ।

सबैभन्दा धेरै डेलिगेट्स रहेको राज्य क्यालिफोर्नियामा भने सान्डर्स विजयी हुने देखिएको छ । यहाँ खर्बपति माइकल ब्लुमबर्ग दोस्रो र बाइडेन तेस्रो स्थानमा छन् । आधा अर्ब डलरभन्दा बढी पैसा खर्चेपनि न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्गले भने एउटै राज्यमा पनि जित निकाल्न सकेनन् ।

यो जीतसँगै अबको प्रतिस्पर्धा बाइडेन र सान्डर्सकै बीचमा हुने भएको छ । पार्टीको निर्वाचनमा विजयी हुनेले आगामी राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्नेछन् ।