
मोरङ । विराटनगरस्थित विराट अस्पतालमा उपचार गराएको पैसा तिर्न नसकेर बन्धक बनाइएका सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको छ ।
भुजेलको आठ महिनापछि विराट अस्पतालबाट सोमबार उद्धार गरिएको हो ।
गत असार ५ गते भोजपुरको षडानन्द नगरपालिका–१ को इखुवाखोला जलविद्युत् आयोजनामा काम गर्ने मजदुरबीच विवादले उग्ररुप लिई कुटाकुट हुँदा छुट्याउन गएका जीवनलाई एक समूहले टाउको र घाँटीमा रड प्रहार गर्दा उनी गम्भीर घाइते भए ।
गम्भीर घाइते जीवनलाई तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगियो तर उनको धरानमा उपचार सम्भव नभएपछि मोरङको विराट अस्पताल सिफारिस गरिएको थियो ।
घाइते जीवनलाई उद्धार गर्न गृह मन्त्रालयबाट पाँच लाख र खाँदबारी नगरपालिकाबाट एक लाख सहयोग गरिएको सांसद राजेन्द्र गौतमले जानकारी दिए ।
जीवनलाई उद्धार गर्न पूर्वगृहसचिव प्रेमकुमार राई र सांसद गौतमको पहलमा गृह मन्त्रालयबाट पाँच लाख सहयोग भएको हो ।
टाउको र घाँटीमा गम्भीर चोट लागेका जीवन आठ महिनादेखि मोरङको विराट अस्पतालमा बन्धक थिए । उपचार गरेको रकम तिर्न नसक्दा अस्पतालले उनलाई बन्धक बनाएको थियो ।
घाइते जीवनको घाँटीको शल्यक्रिया, औषधि र खाना खर्च रु आठ लाख बढी पुगेको थियो । जीवनको उपचारवापतको खर्च भुक्तानी गरेपछि मात्र अस्पतालले सोमबार डिस्चार्ज दिएको हो ।
जीवनलाई उद्धार गरेर अहिले धरानमा राखिएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडाले जानकारी दिए ।
जीवनको उद्धार गर्न सङ्खुवासभाका प्रदेशसभा सदस्य पूर्णप्रसाद राई, पदमकुमारी गुरुङ र नगरप्रमुख खतिवडा सोमबार विराट अस्पताल मोरङ पुगेका थिए ।
जीवनको उपचार खर्च, औषधि र खानाको सात लाख रकम भुक्तानी गरेर सोमबार उद्धार गरिएको नगरप्रमुख खतिवडाले बताए ।
उनको दोस्रो चरणको शल्यक्रिया गर्न उनलाई काठमाडौँको त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भएको नगरप्रमुख खतिवडाले जानकारी दिए ।
घाँटीमा गहिरो चोट लागेकाले श्वास फेर्न प्वाल पारेर पाइप हालिएका कारण जीवन बोल्न नसक्ने अवस्थामा छन् ।
चिकित्सकका अनुसार दोस्रो चरणको उपचार शिक्षण अस्पतालमा मात्रै हुने र सो उपचारपछि मात्रै आवाज आउने छ ।रासस
प्रतिक्रिया दिनुहोस्