
काठमाडौं, फागुन २० । त्रिवि शिक्षण अस्पतालले नेपालमा पहिलो पटक नवजात शिशुको श्रवण परीक्षण गर्ने उपकरण सञ्चालनमा ल्याएको छ ।
अस्पतालले मंगलकार काठमाडौंमा एक कार्यक्रम गरी श्रवण परीक्षण गर्ने एबीआर र ओएई स्क्रीन उपकरण सञ्चालनमा ल्याएको जनाएको छ ।
श्रवण परीक्षण उपकरण कक्लियर इम्पालान्ट नेपाल ग्रुपका संरक्षक डाक्टर राकेशप्रसाद श्रीवास्तवले त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्कालाई हस्तान्तरण गरे ।
विश्व श्रवण दिवसको अवसरमा जीवनको लागि सुनाइ भन्ने नारालाई सार्थकता दिन श्रवण परीक्षण अभियान सञ्चालनमा ल्याइएको हो । उपकरणले नवजात शिशुले कान सुन्न सक्छ की सक्दैन पत्ता लगाउने गर्छ ।
यसको प्रयोगबाट शिशुलाई कुनै हानी नगर्ने वरिष्ठ वाक तथा श्रवण विशेषज्ञ कविराज खनालले जानकारी दिए ।
श्रवण शक्ति परीक्षण गर्ने उपकरण महँगो पर्ने गर्छ । शिक्षण अस्पतालबाट शुरुवात गरिएको यस अभियानलाई ग्रामीण दुरदराजका अस्पतालसम्म पुर्याउनु पर्ने श्रवण विशेषज्ञहरुको जोड छ ।
प्रतिक्रिया दिनुहोस्