
काठमाडौं, फागुन १८ । कोरोना भाइरसको प्रभाव देखिने अवस्थामा सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान नै रोक्ने भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भानुभक्त ढकालले अफ्ठ्यारै अवस्था सृजना भएका विमानस्थल पुरै बन्द गर्ने कि भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएका हुन् ।
छिमेकी देशमाहरुमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालिएको जानकार िदिँदै उनले नेपालले पनि केही देशसँगको उडान तत्काल कटौती गर्नेबारेमा छलफल भइरहको बताए ।
त्रिभुवन विमानस्थलको स्वास्थ्य कक्षमा थप जनशक्ति र ज्वरो नाप्ने मेसिन राख्ने भन्दै उनले थप जनशक्ति र ६ वटा मेसिन राखेर कोरोना संक्रमण देखिएको देशबाट आउने सबै यात्रुको जाँच गरिने बताए ।
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको जानकारी दिँदै मन्त्री ढकालले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आम जनतालाई आह्वान पनि गरे ।
पहिलो चरणमा आवश्यक सावधानी अपनाउने भन्दै नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिसकिएको उनले बताए । दोस्रो चरणको तयारीमा संक्रमितलाई राख्न आवश्यक बेडको व्यवस्था गरिएको र संक्रमणले भयावह रुप लिए सबै अस्पताललाई उपचारका लागि प्रयोग गरिने बताए ।
मन्त्री ढकालले तातोपानी र रसुवागढी नाकामा पनि चिकित्सक खटाइएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्